राजनीतिक प्रतिवेदन फिर्ता लिन ओलीले गरेको आग्रह दाहालद्वारा अस्वीकार

मंसिर २, २०७७ | काठमाडौं

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदन फिर्ता लिन अस्वीकार गर्नुभएको छ । 

सचिवालय बैठक बस्नु एक दिन अघि अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर ललितपुरको खुमलटारस्थित निवास पुगेको महासचिव विष्णु पौडेललाई अध्यक्ष दाहालले आफ्नो प्रस्ताव छलफलबाटै किनारा लगाउनुपर्ने बताउनुभएको थियो । 

अध्यक्ष दाहालले पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाउदै ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको उल्लेख गर्नुभएको छ । 

वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयमाथि अध्यक्ष ओलीबाट बारम्बार आक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।

महासचिव पौडेलले गत शुक्रबारको बैठकमा पेश भएको अध्यक्ष दाहालको प्रस्ताव फिर्ता र भोलिका लागि तय सचिवालय बैठक सार्ने प्रस्ताव गर्नूभएको थियो । भोलिको बैठक सार्न नहुने जवाफ दिदै अध्यक्ष दाहालले अब पार्टीको आन्तरिक विवाद बैठकबाटै समाधान हुनु पर्नेमा जोड दिनुभएको थियो ।

सचिवालयमा आफु अल्पमतमा परेपछि अध्यक्ष ओलीले अस्ति आइतबार बरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग छलफल गर्नुभएको थियो भने स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीसँग भेटवार्ता गर्नुभएको थियो । 


प्रतिक्रिया