जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि दश लाख हस्तान्तरण

मंसिर १२, २०७७ | हेटौडा

हेटौडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुर साखाका अध्यक्ष हरि हुमागाँईलाई शुक्रवार एक समारोहबीच दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका लागि महासंघले सहयोग गर्न आग्रह गरे अनुसार दश लाख रुपैया उपमहानगरपालिकाले हस्तान्तरण गरेको हो । मकवानपुरका पत्रकारको पेन्सन कार्यक्रमका लागि यो पहिलो सहयोग गरिएपनि यसलाई फेरी थप गरिने मेयर महतले बताउनुभयो । जोखिम मोलेर कुनैपनि बेलामा समाचार संकलन गर्ने पत्रकारका लागि उपमहानगरपालिका सहयोगी वन्नका लागि तयार रहेको मेयर महतले जानकारी गराउनुभयो । पत्रकारलाई परेका कुनैपनि समस्या समाधान गर्नका लागि स्थानीय सरकार हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

वर्षौसम्म पत्रकारिता गरेर अवकास लिएका पत्रकारका लागि पेन्सनको व्यवस्था गर्नका लागि महासंघले कार्यविधि बनाएर कार्यसमितिको बैठकमा छलफल गरेको छ । कार्यविधिलाई महासंघको साधारणसभाबाट पास गर्ने तयारी पनि गरिएको छ । 

पत्रकारले जीवनभर उमेर छउन्जेल काम गर्ने, आम नागरिकलाई परेका हरेक समस्या उजागर गर्दै आएपनि पत्रकारले बुढेसकालमा दैनिक छाक टार्न,परिवार चलाउन समस्या हुने, त्यतिबेला परिवारले पनि तिरस्कार गर्ने जस्ता समस्या हुने भएकाले जेष्ठ पत्रकारलाई पेन्सनको कार्यक्रम ल्याउन लागिएको अध्यक्ष हुमागाँईले बताउनुभयो पत्रकार महासंघले सञ्चालन गरेको उपचार कोष, पत्रकारको कोरोना र दुर्घटना बिमा गर्न, लकडाउनको समयमा समस्यामा परेका पत्रकारका लागि राहत सामाग्री सहयोग गरेको छ । 


प्रतिक्रिया