प्रतिनिधि सभाले विजनेश नपाएपछि समिति सभापतिहरु सक्रिय

चैत्र ८, २०७७ | काठमाडौं

प्रतिनिधि सभाको विषयगत समितिका सभापतिले समितिमा रोकिएका विधेयकमाथिको छलफल तत्काल अघि बढाउने बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटासँगको छलफलमा प्रतिनिधि सभाका १० वटै विषयगत समितिका सभापतिले समितिमा रोकिएका विधेयक तत्काल अघि बढाउने बताएका हुन् । 

प्रतिनिधि सभा पुनस्र्थापना भएपनि विजनेश दिन सरकारले आनाकानी गरेपछि समितिमा रहेका विधेयकका बारेमा सभामुख सापकोटाले चासो राख्नुभएको हो । यद्यपि, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने सभाुमख र समिति सभापतिहरुको छलफल नियमित भएको बताउनुभयो ।

छलफलका क्रममा समिति सभापतिहरुले समितिका कामलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था गर्नुपर्ने बताएका थिए । यस्तै सभापतिहरुबाट समितिले दिने निर्देशन कार्यान्वयन गराउन सभामुख नेतृत्वको व्यवस्थापन समितिले चासो देखाउनुपर्ने आवाज उठेको दाहालले बताउनुभयो । 

समितिमा विधेयकमाथि छलफल गर्दा कानून अधिकृतको अभावमा समस्या हुने गरेको पनि सभापतिहरुले बताएका थिए । सभामुख सापकोटाले भने संसद र संसदीय समितिका कामलाई प्रभावकारी बनाउन आफू पनि लागि पर्ने आश्वासन दिनुभएको थियो । 

उहाँले संसदलाई सरकारले विजनेस दिने भएकाले कार्यपालिका र व्यवस्थापिकाबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि जानकारी गराउनुभएको थियो । सभामुख र समिति सभापतिहरुबीच प्रत्येक दुई/दुई महिनामा छलफल हुने भएपनि पछिल्लो राजनीतिक घटनाक्रमका कारण लामो समयदेखि छलफल हुन सकेको थिएन । 


प्रतिक्रिया