काठमाडौं–तराई द्रुतमार्ग बारे अध्ययन गर्न उपसमिति गठन

चैत्र ९, २०७७ | काठमाडौं

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणको वस्तुस्थिति अध्ययन गर्न ५ सदस्यीय उपसमिति बनाएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले एमाले सांसद गणेश पहाडीको संयोजकत्वमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहेको उपसमिति बनाएको हो । 

उपसमितिलाई दुई महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । उपसमितिले फास्ट ट्रयाक निर्माणमा नेपाली सेनाले गर्ने ठेकेदार छनोट, पुल निर्माणमा भएको भनिएको अनियमितता, खोकनामा भएको जग्गाको मुआब्जा विवाद, निर्माणका क्रममा भएको भनिएको लापरवाही लगायत विषयमा अध्ययन गर्ने समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । 

फास्ट ट्रयाक निर्माणका क्रममा भएको भनिएको अनियमितताको विषयमा सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेकाले उपसमितिले विकास समितिको क्षेत्राधिकारभित्र पर्ने सो आयोजनाको समग्रतामा अध्ययन गर्ने खड्काको भनाई थियो । 

काठमाडौंबाट तराई जोड्ने फास्ट ट्रयाक निर्माण नेपाली सेनाले गरिरहेको छ । गत आर्थिक वर्षसम्म ११ प्रतिशत काम भएको सो आयोजनामा चालू आर्थिक वर्षमा थप ५ प्रतिशत हुने सेनाले जनाएको छ । 

छलफलका क्रममा समिति सदस्यहरु गणेश पहाडी, जिपछिरिङ लामा, अनिल झा, रामबहादुर विष्ट लगागतले आयोजना निर्माणका लागि उचित वातावरण बनाउन सरकराले ध्यान दिनुपर्ने बताएका थिए । 

यस्तै निर्माण सामाग्रीको अभाव हुन नदिन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाली सेनाले जिम्मा लिएको आयोजनाको समेत कार्यप्रगति सन्तोषजनक नभएको भन्दै सांसदले प्रश्न उठाएका थिए । 

आयोजना प्रमुख एवम नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेलले सन्तोषजनक तरिकाले नै काम अघि बढिरहेको बताउनुभयो । 

२०७४ साल बैशाख २१ गतेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय गौरवको सो आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो । सेनाले आर्थिक वर्ष २०८०/०८१ मा निर्माण सक्ने लक्ष्य लिएको जनाएको छ । 


प्रतिक्रिया