हेटौंडा–कुलेखानी–फर्पिङ सडक २ महिनापछि सञ्चालनमा

चैत्र ११, २०७७ | हेटौंडा

मकवानपुरको हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्ग आजदेखि सञ्चालनमा आएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी सडक खण्डमा ढलान र कालोपत्रे गर्नका लागि गत माघ १० गतेदेखि सवारी साधन सञ्चालनमा रोग लगाइएकोमा आजदेखि खुलेको हो ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले भीमफेदीदेखि देउरालीसम्मको विभिन्न भागमा ढलान र देउरालीदेखि कुलेखानीसम्म कालोपत्रे गर्न २ महिना सवारी साधन आवतजावतमा रोक लगाएको थियो । लक्ष्य अनुसारको मर्मतको काम सकिएकाले आजदेखि नियमित रुपमा यातायात सेवा सञ्चालनमा आएको निर्देशनालय निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिनुभयो । 

सडक फराकिलो बनाउने र ढलान गर्ने काम सकिएपनि कालोपत्रेका काम भने अझै सकिएको छैन । निर्देशनालयका अनुसार १८ करोडको लागतमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको ८ किलोमिटर सडक र १६ करोड लागतमा देउरालीदेखि कुलेखानीको हेभी चौरसम्मको साढे ७ किलोमिटर सडक स्तरोन्नतिको काम गरिएको छ । 

भीमफेदीदेखि कुलेखानीको हेभी चौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्र गर्ने कार्य भईरहेको छ । आगामी जेठ मसान्तभित्रै कालोपत्रे सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिइएको छ ।


प्रतिक्रिया