मूख्यमन्त्री राई र पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

चैत्र ११, २०७७ | काठमाडौं

प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका झलनाथ खनाल–माधवकुमार नेपाल समूहका प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिने भएका छन् । 

केन्द्रको निर्णय अनुसार नै दुबै प्रदेशमा सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिने तयारी भइरहेको प्रदेश १ का सांसद राजेन्द्र कुमार राईले जानकारी दिनुभयो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्यको हस्ताक्षर संकलन गरिरहेको र अबको ४/५ दिनभित्र प्रदेश सभा सचिवालयमा सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिने राईले बताउनुभयो । 

गत फागुन २३ अघि पछिको परिवेश फरक भएकाले पनि अब मूख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिनुको विकल्प नभएको उहाँको भनाई छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ जना सांसद छन् जसमा १६ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । गत पुष १२ गते दर्ता भएको राई विरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबल भइसकेको छ ।

यस्तै बागमती प्रदेशमा पनि मूख्यमन्त्री डोरमणी पौडेल विरुद्धको अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने तयारी भइरहेको प्रदेश सभा सदस्य पशुपति चौलागाईंले जानकारी दिनुभयो । 

पौडेलविरुद्ध गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेसले निर्णय नगर्दा लामो समयसम्म प्रदेश सभा समेत अवरुद्ध बनेकाले अविश्वासको प्रस्ताव फिर्ता लिने निष्कर्षमा पुगेको चौलागाईंले बताउनुभयो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारवाही गर्ने डरले खनाल नेपाल समूहका प्रदेश सभा सदस्यले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन लागेको एमालेवृत्तमा चर्चा छ । यद्धपी खनाल नेपाल समूहले भने अविश्वासको प्रस्ताव तत्काल निष्कर्षमा नपुग्ने भएकाले हस्ताक्षर फिर्ता लिन लागेको बनाएका छन् ।


प्रतिक्रिया