युवाहरुमा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण बढी

चैत्र २९, २०७७ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय युवाहरुमा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण बढी देखिएको जनाएको छ । मन्त्रालयले आयोजना गरेको प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालको आइसियुमा भर्ना हुनेमा पनि युवाहरु धेरै रहेको भन्दै जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

पछिल्लो २४ घण्टामा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार थपिएका नयाँ संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको संख्या कुल २ लाख ८० हजार २८ पुगेको छ । पछिल्ले समय कोरोना संक्रमण तीब्र बनेसंगै भारतसंग सीमा जोडिएका नाकामा एन्नटीजेन परीक्षणमा कडाई गरिएको छ । कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा १ सय ९७ जनामा एन्टीजेन परीक्षण गर्दा १० जनामा पोजेटिभ देखिएको र त्रिनगर हेल्थ डेस्कमा ४ सय ८३ जनामा एन्टीजेन परीक्षण गर्दा ५४ मा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमित निको भएका छन् । मुलुकभर ८३ जना क्वारेन्टाइनमा र २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन् । हालसम्म २३ लाख १२ हजार ९ सय ६१ पीसीआर परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ ।  


प्रतिक्रिया