जसपाको शीर्ष नेताहरुको बैठक आज पनि बस्दै

चैत्र ३०, २०७७ | काठमाडौं

सत्ता समीकरणका विषयमा नेपाली काँग्रेसबाट आएको प्रस्ताव तथा सम्भावित विकल्पका बिषयमा जनता समाजवादी पार्टी जसपाले आजपनि शीर्ष तहमा छलफल गर्दैछ । हिजोबाट सुरु भएको बैठकले आज पनि निरन्तरता पाउन लागेको हो ।

पार्टी कार्यालय बिजुलीबजारमा दिउँसो २ बजे बस्ने बैठकमा नयाँ परिस्थितीमा पार्टी कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल हुने अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । आफुहरुले उठाएका मागका सम्बोधनका लागि सरकारले प्रक्रिया समेत अघि बढाईसकेकाले जसपालाई निर्णय लिन सकस परेको छ । 

विकसित परिस्थितीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने कि कांग्रेस नेतृत्वमा नयाँ गठबन्धनमा सहभागी बन्ने भन्नेमा पार्टीकै शीर्ष नेताहरु दुई धारमा विभाजित भएपछि हिजोको बैठकपनि निष्कर्षबिहिन बनेको थियो ।

जसपाकै निर्णयमा आगामी राजनीतिक दिशा निर्धारण हुने भएकाले उसको बैठकलाई महत्वका साथ हेरिएको छ । अध्यक्ष ठाकुरले भन्नुभयो, विगत लामो समयदेखी हामीले उठाउँदै आएका मागमा कसैले चासो देखाएनन, वर्तमान सरकारले केहि प्रक्रिया अघि बढाईसकेको परिस्थिती छ । हामी त्यसलाई गुमाउन चाहदैनौँ ।

अध्यक्ष ठाकुरले बरु पार्टी तटस्थ बसेर भएपनि आफ्ना माग र हुन लागेका उपलब्धि रक्षा गर्ने दिशामा अघि बढ्ने संकेत गर्नुभयो ।

नयाँ सत्ता समीकरणका लागि निर्णायक शक्तिका रुपमा रहेको जसपा तटस्थ बसे काँग्रेस र माओवादी केन्द्रको प्रयास असफल बन्ने निश्चित छ ।  


प्रतिक्रिया