एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६ सय ६० जनामा संक्रमण पुष्टी

वैशाख २१, २०७८ | काठमाडौं

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । सो संख्या संक्रमणको कारण ज्यान गुमाउने मध्ये हालसम्मकै उच्च हो ।

 त्यस्तै २४ घण्टाको अवधीमा सबैभन्दा धेरै ७ हजार ६ सय ६० जनामा संक्रमण पुष्टी भएको छ । १६ हजार १ सय ३१ पीसीआर तथा ५ सय ७१ एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमित पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पुष्टी भएका संक्रमितको संख्या तथा जम्मा परीक्षणको आधारमा संक्रमण दर ४६ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ । 

२४ घण्टाको अवधीमा १ हजार ७ सय ७५जना संक्रमणमुक्त भएका छन् । आज पुष्टी भएका संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार ७ सय ७९ जना छन् । त्यस्तै ललितपुरमा ६ सय १ र भक्तपुरमा ५ सय १३ जना रहेका छन् । उमेर समुहका आधारमा सबैभन्दा धेरै संक्रमण पुष्टी हुनेमा ३० देखी ३९ वर्षसम्मका १ हजार ९ सय ७४ जना छन् । मुलुकभर ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा, ४ हजार २ सय ७८ जना संस्थागत आइसोलेसनमा, ६ सय १६ जना आइसीयुमा र १ सय ७९ जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर आईसीयु बेड संख्या १ हजार ४ सय ६ तथा भेन्टिलेटर संख्या ५ सय ७२ रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया