प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषदको बैठक आह्वान

वैशाख २४, २०७८ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी तथा सदस्य नियुक्तिको विषयमा छलफल गर्न परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पर्सी आइतबारका लागि बैठक बोलाउनुभएको हो ।

 सो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । परिषद सदस्यसमेत रहेका प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवा सो बैठकमा नजाने उहाँको सचिवालयले जनाएको छ । बैठकमा सभामुख सापकोटाको पनि सहभागी नहुने उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

 यसअघि परिषद्बाट भएका नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालत गएकाले पनि सो बैठकमा सापकोटा सहभागी नहुने न्यौपानेले बताउनुभयो । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुन्छन् । हाल उपसभामुख पद रिक्त छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश दोस्रो पटक जारी भएपछि बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ गत मंगलबार जारी गर्नुभएको थियो । सो अध्यादेशको प्रमुख प्रतिपक्ष कांग्रेस लगायतका दलले विरोध गर्दै आएका छन् । दलहरुबीच सहमती हुन नसक्दा विभिन्न संवैधानिक आयोगमा लामो समयदेखि पदाधिकारी नियुक्त हुन सकेको छैन ।


प्रतिक्रिया