पछिल्लो २४ घण्टामा दुई हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण ६, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९ सय १८ र तीन हजार ९ सय १ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

 हालसम्म नेपालमा ६ लाख ३६ हजार ४ सय २ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितमध्येको ९४ दशमलव ६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ४ सय ७५ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । 

 योसँगै हालसम्म ९ हजार ६ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ । मुलुकभर २६ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार ३ सय ४० जना संक्रमित होम आइसोलेसन र २ हजार ४ सय ९२ संस्थागत आइसोलेसनमा रछन् । ६ सय २७ जनाको आइसियुमा र १ सय ७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा आजसम्म ३२ लाख ५१ हजार ९ सय ३१ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने खोपको दुवै मात्रा लिनेको संख्या ११ लाख ४३ हजार १ सय २६ पुगेको छ । यस्तै ८१ हजार ३ सय ५२ जनाले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

यसैबीच निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण उकालो लाग्दै गएको भन्दै स्वास्थ्य विज्ञले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा डा अनुप बाँस्तोलाले यो साता संक्रमितको संख्या हवात्तै बढेको बताउनुभएको हो । निशेषधाज्ञा खुकुलो भएको अवस्थामा स्वास्थ्य मापदण्ड नअपनाउँदा पुन: संक्रमणदर बढेको डा बास्तोलाले बताउनुभयो ।

खोप केन्द्रमा सावधानी नअपनाउँदा खोप लगाएको केही दिनमा संक्रमित भएर आउनेको संख्या पनि बढ्दै गएको डा बास्तोलाको भनाई छ । खोपको दुवै मात्रा लिएकाहरुले पनि सावधानी नअपनाउँदा सिकिस्त विरामी भएर अस्पताल भर्ना हुने दर बढेको डा बास्तोला बताउनुहुन्छ ।

अझै पनि परिक्षणको दायरामा अझै ठूलो समूह आउन बाँकी रहेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुको विकल्प नभएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया