एमालेका खनाल-नेपाल समुहद्वारा एकताका लागि अध्यक्ष ओलीलाई आग्रह

श्रावण ६, २०७८ | काठमाडौं

नेकपा एमालेको असन्तुष्ट पक्षले शीर्ष नेताहरु विरुद्धको नारावाजी रोकेर एकताको कामलाई अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । नयाँ बानेश्वरस्थित एक होटमा आज बसेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकताको कामलाई निरन्तरता दिन अध्यक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । 

 बैठकले एकताका लागि वार्ता र १० बुँदे सहमति भइसकेको अवस्थामा सांसदहरुलाई स्पष्टीकरण सोध्ने काम गलत भएको निष्कर्ष निकालेको नेता रघुजी पन्तले जानकारी दिनुभयो । बैठकमा सबैले एकतामा जोड दिएको उल्लेख गर्दै नेता पन्तले सर्वोच्चको आदेश आइसकेको अवस्थामा सांसदलाई स्पष्टिकरण सोधेर आतंकित पार्ने काम र शीर्ष नेता विरुद्ध नारावाजी गर्दै पुत्ला जलाउने गतिविधी रोक्नुपर्ने बताउनुभयो ।

 बैठकमा उपाध्यक्ष भीम रावल भने उपस्थित नभएको उहाँले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । रावल विवाद समाधान गर्न गठन भएको नेपाल समूहको कार्यदलको संयोजक हुनुहुन्छ । देउवालाई विश्वासको मत नदिने यसअघि सो समूहमा सक्रिय अन्य नेताहरु भने सहभागी थिए । सो समूहले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका आफु खेमाका सांसदसँग छलफल गरेको थियो । 


प्रतिक्रिया