कानुनविपरित घरभाडा लिँदै प्रदेश सांसद

श्रावण २६, २०७८

प्रदेश १ मा सांसदहरुले कानुनविपरित आवास सुविधा लिने प्रबृत्ति बढेको छ । प्रदेशसभाभन्दा १५ किलोमिटरको परिधीमा घर भएका र घरबाटै प्रदेशसभा आउने जानेले आवास सुविधा लिन नमिल्ने कानुनी व्यवस्था छ । तर मापदण्डमा नपर्ने सांसदहरुले समेत आवास सुविधा लिएर राज्य श्रोतको चरम दोहन गरिरहेको पाइएको हो । प्रदेश सांसदहरुलाई आवास सुविधा वापत मासिक १९ हजार रुपैयाँ दिने कानुनी व्यवस्था रहेको छ ।

जनता समाजवादी पार्टीको प्रदेश १ का संसदीय दलका नेता जयराम यादवको विराटनगरमा घर भए पनि आवास सुविधा लिँदै आएका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित उनले प्रदेशसभा सदस्य भएदेखि गत आर्थिक वर्षसम्ममा ७ लाख २२ हजार ८ सय ९६ रुपैयाँ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विराटनगरमै घर भएकी कांग्रेसकी बिन्दीया कार्कीले आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा गरी कुल १ लाख ६१ हजार ८९६ रुपैयाँ वापत आवास सुबिधा लिएकी छन् । त्यसपछि भने उनले सो सुविधा नलिएको सचिवालयले जनाएको छ ।

यस्तै, विराटनगरमै घर भएकी कांग्रेसकी शान्तादेवी पौडेल, कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला, एमालेका सर्वध्वज साँवा, ज्ञानेश्वर राजबंशी र लिलम बस्नेत तथा माओवादी केन्द्रका विजय विश्वासले आवास सुबिधा लिने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । दलका नेता कोइराला र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति साँवालाई प्रदेशसभा सचिवालयले गाडी सुबिधा समेत दिएको छ ।

प्रदेशसभा सचिवलायको तथ्यांक अनुसार प्रदेश सांसदहरुलाई गत आर्थिक वर्षसम्ममा आवास सुबिधा वापत ५ करोड ४७ लाख ३० हजार ३ सय ९ रुपैयाँ बैंक खातामार्फत भुक्तानी दिइएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले विराटनगरमा भाडामा बसेको लिखित रुपमा दिएका सांसदहरुलाई आवास खर्च उपलब्ध गराइएको बताउनुभयो । 


प्रतिक्रिया