छिटो स्थानीय तह निर्वाचनको मिति तोक्न आयोगको ताकेता

माघ ११, २०७८ | काठमाडौं


सत्तारुढ गठबन्धनभित्र आगामी निर्वाचनबारे विभिन्न विकल्पमा छलफल भइरहेका बेला निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । संविधानको प्रावधान अनुसार स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै त्यसलाई संसोधन गर्ने बिषयमा सत्तारुढ दलको तयारी भइरहँदा आयोगले आज वक्तव्य जारी गर्दै आफ्नो परामर्शमा निर्वाचन मिति घोषणाका लागि ताकेता गरेको हो । संवैधानिक एवम् कानूनी व्यवस्थाका आधारमा स्थानीय तह निर्वाचन मिति तोक्ने काममा ढिलाइ हुँदा निर्वाचनको व्यवस्थापन जटिल बन्दै जाने आयोगको भनाइ छ ।

आयोगले आफू २०७९ वैशाखमा निर्वाचन गर्न तयारी अवस्थामा रहेको समेत बताएको छ । निर्वाचन आयोगले एकैपटक गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते निर्वाचन गर्ने प्रस्ताव यसअघि नै गरिसकेको छ । आयोगले आगामी जेठ ५ गते स्थानीय तहका पदाधिकारीको पदावधि सकिने प्रावधान रहेकाले त्यसको दुई महिनाअघि निर्वाचन गर्नुपर्ने धारणा राख्दै आएको छ । 


प्रतिक्रिया