सत्तारुढ दलमा सिट बाँडफाँट सकसपूर्ण बन्दै

भाद्र १४, २०७९ | काठमाडौं


सत्तारुढ गठवन्धनमा सिट भागवण्डाको बिषय सकसपूर्ण बन्दै गएको छ । गठवन्धन दलहरुले आफ्नो हैसियत भन्दा वढी संख्या दावी गरेपछि सिट बाँडफाँट सकसपूर्ण बन्दै गएको छ । कार्यदल बैठकमा नेपाली कंग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजबादीले ४०, जसपाले २५ र राष्ट्रिय जनमोर्चाले २ निर्वाचन क्षेत्रमा दावी पेश गरेका छन् । भागवण्डाका विषयमा सहमति नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले बाहेकका वाम गठवन्धनको चेतावनी दिएका छन् । सिटको भागवण्डामा शीर्ष तहमा पहिला टुङ्ग्याउने की कार्यदलले भन्ने विषयमै अन्यौल देखिएको छ । जसका कारण कार्यदल बैठक पटक–पटक निश्कर्ष विहिन बन्दै आएको छ ।

प्रचण्डको चेतावनी

सिट भागवण्डाका लागि बसेको कार्यदलको बैठक पटक पटक निष्कर्षविहिन हुन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकल्पमा अभिव्यक्ति दिन थालेका छन् । नेपाली कंग्रेसले अहिलेको परिस्थिति नवुुझे एमाले बाहेकको गठवन्धन बनाउने अध्यक्ष दाहालले सार्वजनिक रुपमै बताएका छन् । ती दलका नेताहरुका अनुसार बैठकमा कंग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादी पार्टीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दावी गरेका छन् । आफ्नो हैसियतभन्दा बढी सिटसंख्या दावी दलहरुले गरेपछि समस्या भएको राष्ट्रिय जनमोर्चाका नेता एवं कार्यदल सदस्य हिमलाल पुरी बताउँछन् ।

नेताहरु भन्छन्–संघ र प्रदेशको निर्वाचन मिति जति नजिकिदै छ, सत्ता गठवन्धनमा भागवण्डाको राजनीतिक पनि उत्तिकै पेचिलो बन्दै छ । कार्यदल सदस्य एवं माओवादी केन्द्रका महासचिव देव गुरुङ कार्यदलको नेतृत्व गर्ने दलको हैसियतले सवैभन्दा वढी जिम्मेवार कंग्रेस हुनुपर्ने तर्क गर्छन् । पछिल्लो समय सिट भागवण्डाको विषय शीर्ष तहमा टुङ्ग्याउने की कार्यदलमा भन्ने विषयमा अन्योल रहेको महासचिव गुरुङको भनाइ छ ।

कंग्रेसलाई बढी दवाव

पार्टीको आन्तरिक दवाव र सत्ता सहयात्री दलहरुलाई चित्त वुझाउने गरी सिटको भागवण्डा गर्न सत्ता नेतृत्व दल कंग्रेसलाई सवैभन्दा ठूलो चूनौती छ । समानुपातिकमा दोहोरिन नपाउने पार्टीको नीतिका कारण शीर्ष नेताहरुको व्यवस्थापनमा कंग्रेस अप्ठ्यारोमा परेको हो । त्यही अप्ठ्यारोका बीच सिट बाँडफाँटमा रस्साकस्सी देखिनु स्वभाविक भएको कंग्रेस नेताहरुको भनाइ छ । गठवन्धनमा रहेका दलहरुले अहिले शक्तिका लागि बार्गेनिङ गर्नु स्वभाविक भएको भन्दै कंग्रेस नेता मिन विश्वकर्माले ढिलो चाँडो सहमतिमा आउनुका विकल्प नभएको बताए ।

अघिल्लो निर्वाचनलाई आधार मान्नुपर्ने समाजवादीको अडान

प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा प्राप्त मत परिणामलाई आधार मानेर अघि बढ्न एकीकृत समाजवादीले प्रस्ताव गरेको छ । तर स्थानीय तह निर्वाचनपछि हौसिएको नेपाली कंग्रेसले कार्यदल बैठकमा कम्तिमा १ सय सिटको बटमलाइन छाडेको छैन । प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी कंग्रेसको ६३, माओवादी केन्द्रको ४९ र एकीकृत समाजबादीको २३ सिट छ । यस्तै जसपाको १८ सिट छ भने राष्ट्रिय जनमोर्चाको १ सिट छ । प्रतिनिधिसभाको हाल कायम सिटको वस्तुगत आधार खोजेर अन्य सिटमा सहमति खोज्नका लागि प्रयत्न गर्नुपर्ने एकीकृत समाजबादीका नेता जगन्नाथ खतिवडाको तर्क छ । ५ दलीय गठवन्धनलाई प्राथमिकतामा राखेर सहमति खोज्नुको विकल्प नभएको खतिवडाले बताए ।

आगामी निर्वाचन पछिको सत्ता समिकरणलाई लिएर पनि दलीय शक्तिको प्रतिस्पर्धा भएकाले सिट बाँडफाँटमा सकसपूर्ण बनेको विश्लेषकहरु बताउँछन् । ५ दलवीच सहमति खोज्नुपर्ने बाध्यताका बीच पार्टीहरुको आन्तरिक समिकरण मिलाउनुपर्ने दवाव उनीहरुलाई पर्दै गएको छ । 


प्रतिक्रिया