मनाङमा ७१ प्रतिशत मत खस्यो, नार्पाभूमिको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

मंसिर ४, २०७९ | लमजुङ

 हिमाली जिल्ला मनाङमा ७१ दशमलव ४७ प्रतिशत मत खसेको छ । कुल ६ हजार ७ सय ७९ मतदाता रहेकोमा प्रारम्भिक रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो ।

 उहाँका अनुसार सबैभन्दा धेरै ५ सय ८३ मतदाता रहेको ङिस्याङ गाउापालिकाको वडा नम्बर–५ भ्राकास्थित आधारभूत विद्यालय केन्द्रमा ३ सय २४ मत खसेको छ । वडा नम्बर–८ कार्यालय भवन केन्द्रमा ५ सय १२ मतदाता रहेकोमा ३ सय ३७ मत खसेको शर्माले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मतदान सकिएको ठाउँबाट मतपेटिका आउने क्रममा रहेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार मतदानकार्य शान्तिपूर्ण ढंगबाट सकिएको छ । सबै मतपेटिका स्थलमार्गबाट ल्याइने भएपनि नार्पाभूमिको मतपेटिका स्थलमार्गबाट ल्याउन असम्भव भएको बताउनुभयो । ‘हामीले हेलिकप्टरको कुरा गरिरहेका छौं । नार्पाभूमिबाट मतपेटिका ल्याउन ३ दिन लाग्छ’, उहाँले भन्नुभयो, ‘राति सम्भव भएन । भोलिमात्रै मतपेटिका ल्याउने तयारी छ ।’ 

जिल्ला निर्वाचन अधिकारी शर्माका अनुसार कुल ४ सय ६८ मतदाता रहेको नार्पाभूमि गाउँपालिकामा ३ सय १८ मत खसेको छ । नार्पाभूमिबाट मतपेटिका बोकेर ल्याउन सम्भव नभएकाले हेलिकप्टर मार्फत ल्याइने उहाँले बताउनुभयो । 


प्रतिक्रिया