प्रदेश १ को प्रदेश सभामा कस्ले कति पाउँछन् पारिश्रमिक र सुविधा

पुस ४, २०७९ | मोरङ

प्रदेश १ सभाका नवनिर्वाचित ९३ जना प्रदेश सांसदहरुलाई यही साता सपथ ग्रहण गराउने तयारी भइरहेको छ । उनीहरुले सपथ ग्रहण गरेकै दिनदेखि पारिश्रमिक तथा सुबिधा पाउने छन् । 

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार उनीहरुले सपथ ग्रहण गरेका दिनदेखि पारिश्रमिक र सुविधा पाउने हुन् । सो ऐनमा भएको व्यवस्था बमोजिम प्रतिनिधि सभाका सांसद भन्दा प्रदेश सांसदले बढी सुविधा पाउने देखिएको छ ।

सो ऐनको प्रदेश मन्त्रिपरिषद्द्वारा संशोधित अनुसूची १ अनुसार प्रदेश सांसदले प्रतिनिधि सभाका सांसद भन्दा फर्निचर बापत प्राप्त गर्ने एकमुष्ट रकममा ५ हजार र आवास सुविधा एक हजार बढी पाउने देखिएको छ । 

प्रतिनिधि सभाका सांसदले फर्निचर बापत १५ हजार र घर नभएकालाई आवास सुविधा मासिक १८ हजार दिने संघीय संसदको पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ मा उल्लेख छ । तर यस प्रदेशका सांसदले फर्निचर वापत २० हजार र विराटनगरदेखि १५ किलोमिटरभित्र उपयुक्त घर नभएकालाई आवास सुविधा वापत मासिक १९ हजार उपलब्ध गराउने व्यवस्था छ । 

घर भएकालाई वार्षिक एक्मुष्ट मर्मत खर्च ६० हजार उपलब्ध गराउने व्यवस्था छ । तर पहिलो प्रदेशसभाका सांसद तथा हालका स्वास्थ्यमन्त्री जयराम यादवले विराटनगरमा घर भए पनि आवास सुविधा वापतको रकम प्रदेशसभा सचिवालयबाट बुझेका थिए ।

प्रदेश सांसदले प्रतिमहिना पारिश्रमिक ५३ हजार १ सय, बैठक भत्ता एक हजार, टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि २ हजार ५ सय, प्रदेशसभा र संसदीय समितिको बैठकमा सहभागी भएका दिन यातायात खर्च २५० रुपैयाँ पाउने व्यवस्था छ । प्रदेश सांसदहरुलाई सुब्बा सरहका स्वकीय सचिव, बिजुली, धारा महशुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, विदेश भ्रमण गर्दा दैनिक १७५ अमेरिकी डलर र १० लाखको यात्रा बीमाको सुविधा रहेको छ ।

सभामुखलाई मासिक पारिश्रमिक ६२ हजार ५४०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ४ हजार, आवास, गाडी, इन्धन १५० लिटर, मोविल १० लिटर, बिजुली, धारा महशुल २ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार ५ सय, फर्निचर, अतिथि सत्कार ७ हजार, स्वकीय सचिव अधिकृत, सुब्बा, सूचना प्रविधिका लागि खरिदार सरह १/१ जना, श्रेणी विहिन प्रथम स्तरका सवारी चालक र कार्यालय र आवास सहयोगी २ जना उपलब्ध गराउने व्यवस्था छ । विदेश भ्रमण गर्दा दैनिक भत्ता २ सय अमेरिकी डलर र यात्रा बीमाको सुविधा रहेको छ ।

उपसभामुखलाई मासिक पारिश्रमिक ५९ हजार, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा, फर्निचर उपलब्ध गराउने र नभए एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोविल ५ लिटर, विजुली, धारा महशुल २ हजार, अतिथि सत्कार ५ हजार, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बा सरह, श्रेणी बिहिन प्रथम स्तरका सवारी चालक र कार्यालय सहयोगी १/१ जना उपलब्ध गराउने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दलका नेतालाई मासिक पारिश्रमिक ५९ हजार, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २१ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोविल ५ लिटर, विजुली, धारा महशुल १ हजार ५ सय, अतिथि सत्कार ५ हजार, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बा सरह, श्रेणीविहीन प्रथम स्तरका सवारी उपलब्ध गराउने व्यवस्था छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई मासिक पारिश्रमिक ५७ हजार ८२०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १९ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोविल ५ लिटर, बिजुली, धारा महशुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार रुपैयाँ, स्वकीय सचिव सुब्बा सरह, श्रेणीविहीन प्रथम स्तरका सवारी उपलब्ध गराउने व्यवस्था छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकलाई मासिक पारिश्रमिक ५७ हजार ८२०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १९ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, यातायात खर्च मासिक ७ हजार ५ सय, बिजुली, धारा महशुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बा सरह उपलब्ध गराउने व्यवस्था छ । 

उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकले विदेश भ्रमण गर्दा दैनिक भत्ता १७५ अमेरिकी डलर र यात्रा बीमा १९ लाख रुपैयाँको सुविधा रहेको छ । प्रतिनिधि सभाका सांसदभन्दा प्रदेश सांसदलाई बढी सुविधा बारे प्रदेश सरकारका कसैले बोल्न चाहेनन् । 


प्रतिक्रिया