प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

पुस २४, २०७९ | मोरङ

एमाले संसदीय दलका नेता हिक्मत कार्की प्रदेश–१ को मुख्यमन्त्री बन्नुभएको छ ।

९३ सदस्यीय प्रदेशसभामा ६० सांसदको समर्थनसहित कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको प्रदेशसभा कार्यालयले जनाएको छ ।

कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदले समर्थन गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि दिउँसो २ बजे सपथ ग्रहण गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । कार्की प्रदेश–१ का चौथो मुख्यमन्त्री बन्नुभएको हो ।

यसअघि एमालेका शेरधन राई र भीम आचार्य तथा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री हुनुभएको थियो ।

विद्यार्थी संगठनबाट राजनीति शुरु गरेका कार्की यसअघि २०७४ सालमा प्रदेश–१ को आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्थ्यो ।

एमालेका स्थायी समिति सदस्य समेत रहेका कार्की अध्यक्ष केपी ओली निकट नेता हुनुहुन्छ । प्रदेश–१ मा भावी सभामुख आफ्नो पार्टीले पाउने सहमति अनुसार माओवादी केन्द्रले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

माओवादी केन्द्रका प्रदेश सांसद गणेश उप्रेतीका अनुसार प्रदेश सभामुख माओवादी केन्द्रले लिने सहमति अनुसार एमालेलाई समर्थन गर्ने निर्णय भएको हो ।

प्रदेश सरकारका मन्त्री र समिति सभापतिहरूको बाँडफाँडबारे निर्णय हुन बाँकी छ । 


प्रतिक्रिया