मन्त्रिमण्डलले पूर्णता पाउनेमा अन्यौल

चैत्र १८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठन गरेपनि पुर्णता पाउने विषयमा भने अन्यौल देखिएको छ । हिजो पाँच दलका मन्त्रीसहित मन्त्रिमण्डल विस्तार गरे पनि अझै ६ वटा मन्त्रालय प्रधानमन्त्री दाहालले सम्हाल्नु भएको छ । सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा शेखर कोइराला पक्ष ३ वटा मन्त्रालय पाउनु पर्ने अडिग भएपछि कांग्रेसभित्र विवाद बढेको छ । प्रधानमन्त्री दाहालले सातौं पटक मन्त्रीमण्डल पुनर्गठन गर्दा पनि पूर्णता भने पाउन सकेन । कांग्रेसले पाएको ८ वटा मन्त्रालयमध्ये चार वटा मन्त्री मात्र पठाउन सक्यो । कांग्रेसभित्रको गुटगत विवादका कारण मन्त्रीमण्डलले पूर्णता पाउने विषयमा ढिलाई हुने भएको छ । 

शेखर कोइराला पक्षले ६०/४० का आधारमा आफूहरुले ३ वटा मन्त्रालय पाउने अडान कायमै राखेको छ । सह–महामन्त्री जीवन परियारले मन्त्रालय भागवण्डामा कोइराला पक्षको सम्मानजनक सहभागिता हुनुपर्नेमा आफुहरु अडिग रहेको बताउनुभयो । यसैबीच जनमत पार्टी आफूहरुको माग अनुसारको मन्त्रालय नपाएको भन्दै हिजो सरकारबाट बाहिरिएको छ । सो पार्टीका सांसद तथा पूर्व खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने भनेर हल्ला मात्र गरेर आफूहरुलाई झुक्याएको बताउनुभयो । पटक पटक झुक्याएकाले सरकारमा नरहने पार्टीले निर्णय गरेको उहाँको भनाई छ । यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सरकार बाहिर हुनुहुन्छ । 


प्रतिक्रिया