प्रधानमन्त्री दाहाल भारत भ्रमणमा, समकक्षी मोदीसँग भोलि भेटवार्ता हुने

जेष्ठ १७, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिनका लागि भारत भ्रमणमा जानुभएको छ । पुष १० गते प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा दाहाल दक्षिणी छिमेक भारतको भ्रमणमा जानुभएको हो ।

प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित विमानस्थलमा आज अपरान्ह भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, उर्जामन्त्री शक्ति बहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, कृषि मन्त्री वेदुराम भुसाल पनि हुनुहुन्छ ।

भ्रमणका क्रममा दीर्घकालिन उर्जा व्यापार, भारत हुँंदै बंगलादेशमा विद्युत व्यापार एवम् प्रसारण लाइन, हवाइ रुट र कृषि क्षेत्रमा सम्झौता हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री दाहालले दिल्लीस्थित हैदराबाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँंग भोलि भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीसँगको भेटका क्रममा दुई पक्षीय आर्थिक सहमतिमा हस्ताक्षर, केही विकास परियोजनाको उद्घाटन एवं संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

समकक्षी मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले दिल्लीमा आयोजना गरिएको नेपाल–भारत ब्यापार सम्मेलनमा सहभागिता जनाउने तय भएको छ । प्रधानमन्त्री दाहालले भारत मध्यप्रदेशको उज्जेन र इन्दोरको भ्रमण गरेर आगामी शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया