बालकुमारीमा घटनाका मृतक परिवारलाइ सरकारले १० लाख रुपैयाँ राहत दिने
पुस १४, २०८० | काठमाडौं
ललितपुरको बालकुमारीमा हिजो प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत दिने भएको छ ।
बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । त्यस्तै, बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
मन्त्री शर्माले आगामी दिनमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बद्ध निकायलाई थप सतर्क हुन पनि निर्देशन दिएको जानकारी दिनुभयो । मन्त्री शर्माले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निर्देशन दिएको बताउनुभयो ।
कोरियाली भाषा परीक्षामा अनुत्र्तीर्ण भएका युवाहरुले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीसँग झडप हुँदा घाइते भएका दुई युवकको मृत्यु भएको थियो । घटनापछि सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ ।