अनलाइन मिडिया र सामाजिक सञ्जालले अनुशासनहीनता बढायोः सञ्चारमन्त्री गुरुङ
मंसिर २९, २०८१ | काठमाडौं
नेपाली काँग्रेस र एमाले सम्मिलित झन्डै दूई तिहाइ बहुमतसहितको सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा नियमन आवश्यक भएको बताएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडिया र सामाजिक सञ्जालमा अराजकता र अनुशासनहीनता रहेको बताउँदै त्यसको नियमन आवश्यक भएको बताउनुभएको हो ।
काठमाडौंमा आज नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै मन्त्री गुरुङले ती माध्यमबाट सामाजिक सद्भाव बिथोल्ने प्रयास भएको समेत बताउनुभयो ।
सामाजिक सञ्जाललाई नियमन गर्ने कानुनका लागि अध्यादेश ल्याउनुपर्ने पक्षमा आफू रहेको मन्त्री गुरुङले बताउनुभयो । त्यससम्बन्धि विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी दिँदै उहाँले संसद नचलेकाले अध्यादेश ल्याउनुपर्नेे उल्लेख गर्नुभयो ।
अखवार र विद्युतीय सञ्चारमाध्यमले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना गरिरहेको भएपनि अन्य मिडियाहरूले अराजकता मच्चाउने काम गरेको मन्त्री गुरुङको भनाई थियो ।