राप्रपाको जनप्रदर्शनमा प्रहरीको दमन

चैत्र २७, २०८०

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र पुर्नवहालीको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा आज प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्दै सिंहरदबारको मूलगेटतर्फ अघि बढेपछि प्रहरीले राप्रपाका नेता–कार्यकर्तामाथि पानीको फोहोरा, अश्रु ग्यास र लाठीचार्ज प्रहार गर्‍यो। 

राप्रपाले व्यवस्था परिवर्तनको माग गर्दै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेको थियो । त्यसअघि काठमाडौंका विभिन्न स्थानबाट सो पार्टीले र्‍याली निकालेको थियो । आफूहरुको आन्दोलनमा दमन गरिएको भन्दै राप्रपाले आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्ण प्रदर्शनमा दमन गरिएको बताउनुभयो ।

कार्यक्रममा हस्तक्षेप गरिएको भन्दै राप्रपाले गृहमन्त्री रवि लामिछानेको राजिनामा समेत माग गरेको छ । राप्रपा अध्यक्ष लिङ्देनले अब गृहमन्त्रीको विरोधसहित आन्दोलन अघि बढाउने बताउनुभयो ।

सरकारलाई ४० वूदे माग बुझाएको केही दिनपछि काठमाडौं केन्द्रित प्रदर्शन गरेको राप्रपाको कार्यक्रममा सहभागी हुन उपत्यका बाहिरबाट समेत नेता–कार्यकर्ता आएका थिए ।


प्रतिक्रिया