सहकारी छानबिन गर्ने संसदीय समितिमा भोलिसम्म सहमति हुन्छः मन्त्री गिरी

जेष्ठ १२, २०८१ | काठमाडौं

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा भोलिसम्ममा सहमति जुट्ने बताउनुभएको छ ।

पर्वतमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गिरीले कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको भन्दै सत्ता र प्रतिपक्ष लचिलो भएर टुङ्गोमा पुग्नुपर्ने बताउनुभयो । उहाँले भोलिको संसद् बैठक अघि नै सहमति हुने र संसद्का कामकारबाही सञ्चालन हुने जानकारी दिनुभयो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने बारे प्रतिपक्षी दल आफ्ना अडानबाट पछि हटिसकेको भन्दै मन्त्री गिरीले अपचलन गर्ने कम्पनी वा सहकारीको नाम भने लेख्न सकिने बताउनुभयो ।

मन्त्री गिरीले भोलि संसद्बाट नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याएर पारित गरिने र १५ गते बजेट ल्याउने तयारीमा सरकार जुटेको जानकारी दिनुभयो । 


प्रतिक्रिया