ताप्लेजुङमा बाढीले सिसेवा खोलाको पुल बगायो, सडक अवरुद्ध

जेष्ठ ३१, २०८१ | काठमाडौं

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित सिसेवाखोलामा आएको बाढीले पुल बगाउनुका साथै सदरमुकामबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ ।

वर्षासँगै आज बिहान आएको बाढीका कारण ढुङगा र माटोले तमोर नदीमा समेत ड्याम बनाएको छ । वडाध्यक्ष देउप्रसाद लिम्बुले तमोर नदीबाट पानीको निकास भइरहेकाले ड्यामले ठूलो क्षति गर्ने अवस्था भने नभएको बताउनुभयो ।

उहाँका अनुसार तापेथोक बगरमा रहेका प्रहरी चौकी, स्वास्थ्य चौकी र निजी घरमा भने असर पर्नसक्ने देखिएको छ ।

यसैबीच, खोलाको बहाव नघटेसम्म बालबालिकालाई विद्यालय नपठाउन अभिभावकलाई आग्रह गरिएको छ । पानी रोकिएपछि मात्रै सो क्षेत्रमा यातायात सञ्चालन गर्ने बिषयमा छलफल गर्ने वडाध्यक्ष लिम्बुले बताउनुभयो ।  


प्रतिक्रिया