नयाँ सरकार निर्माणमा ढिलाइ हुने संकेत

असार २०, २०८१ | काठमाडौं

प्रमुख दुई दल नेपाली काँग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सहमति भएपनि नयाँ सरकार निर्माणमा ढिलाइ हुने संकेत देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिने योजना बनाएपछि नयाँ सरकार निर्माणमा ढिलाइ हुने भएको हो ।

काँग्रेस र एमालेले अर्को सरकारका लागि मार्गप्रशस्त गर्न दवाव बढाएपनि प्रधानमन्त्री दाहाल संवैधानिक प्रावधान अनुसार विश्वासको मत माग्ने पक्षमा हुनुहुन्छ । त्यसका लागि उहाँले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सहमत गराउनुभएको छ । प्रधानमन्त्री दाहालको आग्रहपछि सो पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ ।

सरकारमा सहभागी चार मन्त्रीले आज बिहान राजीनामा बुझाउने तयारी गरेका थिए । तर बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले छिट्टै विश्वासको मत लिने र सहयोग गर्न रास्वपाका नेताहरुलाई आग्रह गर्नुभएको थियो । त्यसपछि तत्काल सरकारबाट नबाहिरिने निर्णयमा पुगेकोे रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । विश्वासको मत लिने प्रधानमन्त्री दाहालको तयारीमा आफूहरुको समर्थन भएको परियारले बताउनुभयो ।

काँग्रेस र एमालेबीच नयाँ सत्ता सहकार्य गर्ने सहमतिपछि एमालेले भने सरकारबाट समर्थन फिर्ता लिइसकेको छ । तैपनि प्रधानमन्त्री दाहालले राजिनामा नदिई विश्वासको मत माग्ने तयारी गरेपछि एमालेले सरकारलाई दीर्घकालिन असर पर्ने निर्णय नगर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न एमालेले ध्यानाकर्षण गराएको हो । सो पार्टीका महासचिव शंकर पोखरेलले दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको बताउनुभएको छ । 


प्रतिक्रिया