मधेसका मुख्यमन्त्री सिंहले विश्वासको मत लिँदै

असार २२, २०८१ | काठमाडौं

मधेस प्रदेशमा मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सभामा आज विश्वासको मत लिँदै हुनुहुन्छ । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री सिंहले आज प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो । 

मधेस प्रदेश सभामा चौंथो ठूलो दल जनमत पार्टीका सिंह ६ दलका ५५ जना सांसदको समर्थनमा गत जेठ २५ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

कुल १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसदको मत आवश्यक पर्छ । केन्द्रमा नयाँ सत्ता समीकरणको सहमति गरिसकेका कांग्रेस र एमालेले जनमतबाट मुख्यमन्त्री बनेका सिंहलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

जनता समाजवादी पार्टी नेपाल बाहेक अन्य सबै दलको समर्थन आफूहरुलाई रहेको जनमत पार्टीका सांसद चन्द्रकिशोर सिंहले बताउनुभयो ।

प्रदेशसभामा एमालेका सभामुखसहित २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ सदस्य छन् । 

गत २३ बैशाखमा विभाजन भएको जनता समाजवादी पार्टी नेपालसँग १६ सिट छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सदस्य छन् । एमालेको शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने निर्णय गरेको हो । 


प्रतिक्रिया