आगामी शुक्रवार मौद्रिक नीति ल्याउने तयारी

श्रावण ८, २०८१ | काठमाडौं

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति आगामी शुक्रबार ल्याउने तयारी गरेको छ । गत शुक्रबार ल्याउने गरी केन्द्रीय बैंकले सवै तयारी पुरा गरेपनि सरकारको आग्रहमा अन्तिम समयमा स्थगित भएको थियो । आगामी शुक्रबार मौद्रिक नीति ल्याउने गरी तयारी भइरहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । सामान्यतय साउन १५ भित्र मौद्रिक नीति ल्याउनुपर्ने प्रावधान रहेकाले सोही अनुसारको तयारी भइरहेको श्रेष्ठको भनाइ छ ।

गत शुक्रबार आउने भनिएको मौद्रिक नीति प्रधानमन्त्री कार्यालयको निर्देशनमा रोकिएको भन्दै टिकाटिप्पणी भइरहेका छन् । भर्खरै नयाँ सरकार गठन भएको र वित्तीय क्षेत्रमा केही विषय सम्वोधन गर्नुपर्ने भएकाले केही समय रोक्न आग्रह गरिएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जनाएको छ ।

अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधारका केही संकेतहरु देखिएपनि आन्तरिकतर्फ शिथिलताकै अवस्थामा छ । बैंक वित्तीय संस्थामा करिव ८ खर्व रुपैया लगानी योग्य रकम अधिक तरलता थुप्रिएको छ । खासगरी वित्तीय क्षेत्र चलायमान हुन सकेको छैन । चालु आर्थिक वर्षको बजेटमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि र मल्यवृद्धि ५ दशमलव ५ प्रतिशतको सीमामा राख्ने जनाएको छ । राष्ट्र बैंकले सरकारको वित्त नीतिलाई सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने गर्छ । यो आर्थिक बर्षमा निजी क्षेत्रमा जाने कर्जामा सहजीकरण गर्ने गरी मौद्रिक नीति तय हुने बताइएको छ । 


प्रतिक्रिया