काँग्रेस नेता कमलवहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त

श्रावण २०, २०८१ | धनगढी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुुनुभएको छ ।

शाह दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो । दीर्घबहादुर सोडारीले गत शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार आज साँझ ५ बजेसम्मको समय तोक्नु भएको थियो ।

एमालेको समर्थनमा निर्धारित समयभित्र शाहले दावी पेश गर्नु भएको थियो । एमाले र काँग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली काँग्रेसको भागमा परेको थियो ।

प्रदेश सांसद प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट समेत मुख्यमन्त्रीका आकांक्षी भएपनि काँग्रेस सभापति शेरवहादुर देउवाको निर्देशनपछि शाहका लागि दोस्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

५३ सदस्यीय सुदूरपश्चिमप्रदेश सभामा नेपाली काँग्रेसका १८, एमालेका ११ सांसद छन् । शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा १४ महिना मुख्यमन्त्री बन्नुभएको थियो ।  


प्रतिक्रिया