सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि
पुस ६, २०८१ | काठमाडौं
पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा आज सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो । जितसँगै जनकपुरले लिग चरण र क्वालिफायरमा सुदूरपश्चिमसँग ब्यहोरेकोे २ वटा हारको बदला लिएको छ ।
सुदूरपश्चिम रोयल्सले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । पावर प्लेमा उत्कृष्ट प्रदर्शन गरेको जनकपुरको जितमा ओपनर लाहिरु मिलान्था नायक रहे । मिलान्थाले ४ चौका र ६ छक्काको सहयोगमा ८७ रनको महत्वपूर्ण पारि खेले । यस्तै अर्का ओपनर अशिफ शेखले २ छक्का र ४ चौका सहित ३३ रन बनाए । हर्ष ठाकरले ३० रन बनाए ।
१९ औं ओभरको दोस्रो बलमा जितका लागि २ रन चाहिएको अवस्थामा नरेन साउदको बलमा मयन यादवले आवश्यक रन लिए सँगै जनकपुर विजयी भएको हो । त्यसअघि सुदूरपश्चिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारी र सैफ जैबले उत्कृष्ट प्रर्दशन गरे । ४३ बल खेलेका सैफ जैबले ८ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाए भने अर्का ओपनर विनोद भण्डारीले १ चौका र ३ छक्का सहित ४१ रन बनाएका थिए ।
जनकपुरलाई १ करोड १० लाख रुपैयाँ पुरस्कार
पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि मानिएको छ । उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
दीपेन्द्रलाई कार, ललितलाई बाईक उपहार
पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरि बनेका छन् ।
प्रतियोगितामा ऐरीले २ सय २७ रन बनाउनुका साथै ८ विकेट लिएका थिए । सर्वोत्कृष्ट खेलाडीका रुपमा उनले कार जितेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट बलर जनकपुर बोल्ट्सका ललित राजवंशी बनेका छन् । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।
झण्डै तीन साता चलेको प्रतियोगितामा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका कर्णाली याक्सका विपिन शर्मा नेपाली क्रिकेटको नयाँ स्टारको रुपमा देखा परेका छन् । शर्मा उदयमान खेलाडी बनेका छन् । जनकपुरका लागि खेलेका न्यूजील्याण्डका जेम्स निसम इर्नजिटिक खेलाडी बनेका छन् ।