बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम सर्वसम्मत अनुमोदन
कार्तिक १४, २०८१ | काठमाडौं
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ ।
सिंहदरवारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा लम्सालले आफ्नो अनुभव र कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । त्यसपछि समितिले उहाँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
परराष्ट्र सचिव समेत रहेकी लम्सालले अब बेल्जियमको राजदूतका साथै युरोपियन युनियनका लागि नेपाल प्रतिनिधि भएर काम गर्ने भएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि लम्साललाई राष्ट्रपतिले नियुक्त गर्नेछन् । यसैबीच, लम्सालले नेपालको संक्रमणकालीन न्यायको सम्बन्धमा आफूले प्रचारप्रसार गर्ने बताउनु भएको छ ।
समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले नेपालको संक्रमणकालीन न्यायको सफलताको प्रचारप्रसार र प्रवर्धन गरी नेपालको छबी सकारात्मक बनाउने बताउनु भएको हो । लम्सालले नेपालको संक्रमणकालीन न्यायको सम्बन्धमा युरोपेली मुलुकमा प्रचारप्रसारको आवश्यकता रहेको भन्दै त्यसलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपालको निर्यात व्यापार प्रवर्धन, विकास सहायता, पर्यटन प्रवर्धनमा उच्च आय र मर्यादित रोजगारीका अवसरको खोजी, नेपालमा वैदेशिक लगानी ल्याउने, आर्थिक कूटनीति कार्यान्वयन गर्ने सन्दर्भमा गैरआवासीय नेपालीसँग सहकार्य गर्ने उहाँको भनाई छ । द्विपक्षीय संयन्त्र क्रियाशील गर्ने, सार्वजनिक कूटनीति मार्फत नेपालको नरम शक्तिको प्रवर्धन र नीति पैरवी तथा नागरिक स्तरमा सम्बन्ध विस्तार गर्ने लम्सालको कार्ययोजनामा उल्लेख छ ।