बालमन्दिर जग्गा हिनामिनाबारे मानव अधिकार आयोगको अनुसन्धान सुरु

फाल्गुन २, २०८१ | काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले बालमन्दिरको जग्गा हिनामिना गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरेको छ । सो घटनामा बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको संलग्नता रहेपनि सत्ता र शक्तिको आडमा निजउपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेपछि अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो । साथै, आयोगले नेपाल बाल संगठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन समेत भनेको छ ।
उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।