प्रशासनमन्त्री राजकुमार गुप्ताद्वारा राजीनामा

असार ३१, २०८२

बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएको जानकारी दिनु भएको हो । आफूमाथि लागेका आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उहाँको भनाई छ । मन्त्री गुप्ताले राजीनामा दिएको बालुवाटारले पुष्टि गरेको छ । हिजो प्रधानमन्त्री ओलीले गुप्तालाई बोलाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन र चित्त नबुझेमा राजीनामा दिन निर्देशन दिनु भएको थियो । सोही अनुसार गुप्ताले प्रधानमन्त्री निवास बालुवाटारमा गएर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उहाँलाई बर्खास्त गर्न माग उठिरहेको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियोमा सुनिन्छ । बिचौलियासँग ‘डिल’ गरेको अडियो सार्वजनिक हुँदासमेत सरकार मौन बसेकामा सडकदेखि सदनसम्म चर्को विरोध भइरहेको छ ।


प्रतिक्रिया