७४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

रेडियो कान्तिपुर संवाददाता

भाद्र २३, २०८२

पर्वत । पर्वतको कुश्मामा कार्यालय रहेको बैशाली सहकारी संस्था लिमिटेडमा बचतकर्ताको १० करोड ६४ लाख रकम हिनामिनामा संलग्न रहेका ७४ जनाविरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । 

सहकारीमा भएको रकम हिनामिनाका अनुसन्धान अधिकृत सुमित श्रेष्ठकाअनुसार हिनामिनामा संलग्न ७४ जनाबाट १० करोड ६४ लाख बिगो हर्जना मागदावी गरेर प्रहरीले मुद्दा दर्ता गरेको हो । सहकारी रजिस्टारको कार्यालय पोखरामा एक महिना अघि छानविन गरेर दिएको प्रतिवेदनलाई आधार मानेर प्रहरीले अनुसन्धान थालेको हो । 

प्रहरीले हिनामिना गरेकाहरुलाई रकम दाखिला गर्न उर्दी गरेपछि एक महिनाको अबधिमा ८ करोड भन्दा धेरै बचतकर्ताको रकम फिर्ता भएको थियो । अनुसन्धान थालेको एक महिनाको अवधिमा एउटै सहकारीमा रकम हिनामिना गरेकाहरुले यति धेरै रकम फिर्ता गरेको र एउटै सहकारीको रकम हिनामिनामा ४ सय ११ जना संलग्न भएको यो नेपालको पहिलो घटना भएको छानविनमा संलग्न प्रहरी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।   

प्रहरीकाअनुसार १ सय ५३ जना हिनामिनामा संलग्न रहेर १८ करोड ७६ लाख हिनामिना भएकोमा हिनामिनामा संलग्नहरुले ८ करोड भन्दा धेरै रकम बुझाएपछि १० करोड ६४ लाख बिगो माग दावी सहित प्रहरीले आइतबार साँझ अबेर अदालतमा मुद्दा दर्ता गरेको थियो । सहकारी रजिस्टारको कार्यालय पोखराले गत असारमा वित्तिय विश्लेषक निर्मल गौतमलाई खटाएर बैशालीको रकम छानविन गरेपछि सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको तथ्य बाहिरीको थियो ।

सहकारीकी व्यवस्थापक कुमारी पुर्जाले सहकारीको शेयर सदस्य समेत नरहेका स्थानीयबाट दैनिक, मासिक रकम संकलन गरेर त्यस्तालाई ऋण दिएको छानविन प्रतिवेदनमा उल्लेख छ । शेयर सदस्यबाहिरका व्यक्तिबाट बचत रकम संकलन गर्नु र ऋण दिनु सहकारी ऐन विपरीत हो । संस्थाका सञ्चालक समिति र व्यवस्थापकको मिलोमतोमा रकम हिनामिना भएको पाइएको हो । सहकारीको रकम नक्कली ऋणी बनाएर निकासा गरिएको, त्यस्तो रकम सोझै ढुकुटी र व्यापार व्यवसायमा लगानी गरेर हिनामिना गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । व्यवस्थापक पुर्जाले सञ्चालक समिति र ऋण उपसमितिलाई समेत जानकारी नदिइ कर्जा लगानी गरेको पाइएको छ । व्यवस्थापक आफैले एक करोडभन्दा बढी रकम हिनामिना गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । उनले आफैले खेलाएको ढुकुटीमा सहकारीको पैसा कर्जा दिएर लगानी गरेको खुलेको छ । कुमारीले ५ जना महिलालाई ८ करोड भन्दा धेरै ऋण दिएर हिनामिना गरेको छानविन प्रतिवेदनमा उल्लेख छ ।

सञ्चालक समितिले गत असारमा निर्णय नै गरेर छानविन गरिपाउ भनेर आफुलाई पत्र पठाए पछि वित्तिय विश्लेषक निर्मल गौतमले यो सहकारीको हिसाब छानविन गरेर प्रतिवेदन दिनुभएको थियो । गौतमको प्रतिवेदनलाई आधार मानेर प्रहरीले फेरि विस्तृत अनुसन्धान गरेको थियो । सहकारीको रकम हिनामिनामा त्यहाकी व्यवस्थापक कुमारी पुर्जा पुन(मगर), हालका अध्यक्ष गणेश पुन मगर, पूर्व अध्यक्ष गुमबहादुर पुन, कारोबारमा संलग्न स्थानीय महिला लतिफा बेगम, जरिना खातुन, सैजुन मिया, कमला कुमारी पुन मगर, सरिफा खतुन मिया, हिरामाया पुन, रामबहादुर पुन, दुर्गाबहादुर पुन मगर र नारायण शर्मा पौडेल रकम हिनामिनाका मुख्य दोषी रहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीको सिद्धान्त विपरीत शेयर सदस्य समेत नरहेकावाट वचत संकलन गरेर त्यस्ता सदस्लाई कर्जा ( ऋण) लगानी गरिएको छ । उनीहरु सहकारीको रकम हिनामिनामा संलग्न मुख्य दोषी भएको छानविन प्रतिवेदनमा उल्लेख छ ।

यो सहकारीमा ४ सय २६ जना बचतकर्ता रहेका छन् । २०६८ सालमा स्थापना भएको यो सहकारी कुनै समय जिल्लाकै उत्कृष्ट सहकारी मानिन्थ्यो । 


प्रतिक्रिया