मतपेटिका सङ्कलन भएको २४ घन्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी
फाल्गुन १२, २०८२ | काठमाडौं
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घन्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताउनुभएको हो । मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घन्टाभित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको उल्लेख गर्नुभयो ।
निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग पूर्णरूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो । मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको उहाँको भनाइ थियो ।
हिमााली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोग निर्णयमा पुगि नसकेको उहाँले स्पष्ट पार्नुभयो । भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै आयोग मौसमको प्रतिकूलताको अध्ययन गरी मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नपर्ने गरी तत्काल निर्णय गर्नेगरी तयारी अवस्थामा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिनिधि सभाको निर्वाचनका लागि आगामी २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ ।









