काठमाडौंका तीन विद्यालयमा बम बिष्फोट

रेडियो कान्तिपुर संवाददाता

आश्विन ४, २०७३ | काठमाडौं

राजधानीका केही विद्यालयमा आज विहानै बम बिष्फोट भएको छ । केही विद्यालयमा बम भेटिएका छन् ।

विद्यालय समय सुरु हुनु पूर्व नै बम भेटिएकाले मानवीय क्षति भने नभएको महानगरीय प्रहरी परिषर काठमाडौंले जनाएको छ । 

गोकर्णेश्वर नगरपालिका दक्षिण ढोकास्थित आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बिहान पौने ४ बजे ग्यास सिलिण्डर बम बिष्फोट भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रम सिंह थापाले जानकारी दिनुभयो । त्यसको केही समयपछि नै डल्लुस्थित कञ्चनजंघा इन्टिग्रेटेड इङ्लीस स्कुलको गेटमा समेत प्रेस कुकर बम बिष्फोट भएको थियो । 

यस्तै गोकर्णेश्वर नगरपालिकामा रहेका बिभिन्न विद्यालयमा समेत शंकास्पद बस्तु भेटिएका छन् । काठमाडौं प्रहरीकाअनुसार, जोरपाटी नारायणथानमा रहेको राइ ईङलीस स्कुल, माउण्ट युवराल टिचिङ एकेडेमी र ईष्ट पोल स्कुलमा समेत शंकास्पद बस्तु भेटिएको छ । ईष्ट पोल स्कुलको गेटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स केन्द्र केन्द्रीय समितिको नाममा पर्चा भेटिएका छन् । 

यस्तै गोकर्णेश्वर नगरपालिका १४ मा रहेको बाल संसार एकेडेमीमा एक लिटरको प्रेसर कुकर बम भेटिएको छ भने सोही नगरपालिकाको वडा नम्बर १२ मा रहेको लामा पेट्रोल पम्प अगाडि समेत शंकास्पद बस्तु भेटिएको छ ।

ललितपुरको सानेपास्थित रेडिएन्ट स्कूलमा प्रेसर कुकरमा राखिएको चार सय ग्रामको बिष्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । 

शंकास्पद बस्तु भेटिएका ठाउँमा डिस्पोजका लागी नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भएको छ । 

यसैबीच प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धान जारी रहेको भन्दै प्रहरीले उनीहरुको नाम सार्वजनीक गरेको छैन । 

 


प्रतिक्रिया