हिमाली क्षेत्रमा जलवायु अनुकूल पर्यटन योजनाका लागि सरोकारवालासँग सिनासको परामर्श

रेडियो कान्तिपुर संवाददाता

वैशाख २७, २०८३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) ले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना ‘नेपालको हिमाली क्षेत्रमा जलवायु अनुकूल पर्यटन आयोजनाको क्षमता अभिवृद्धि’ को स्थलगत अध्ययन गर्नुअगाडी सरोकारवालासँग परामर्श गरेको छ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) सँग सिनासले काठमाडौंमा यसै साता परामर्श गरेको हो ।

टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले हिमालमा हिउँ मात्र नभई मानिसको जीवन पनि पग्लिँदै गएको र यसमा राज्यले गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो । उहाँले सगरमाथा खुम्बु क्षेत्रमा जलवायु परिवर्तनको असरबारे अनुभव सुनाउँदै समुदाय मजबुत बनाउने नीतिले मात्रै जलवायु परिवर्तनका समस्यासँग जुध्न सकिने बताउनुभयो । उहाँले नेपालको हिमाली जिल्लामा पछिल्लो समय भईरहेको प्राकृतिक विपद्बारे अनुसन्धान हुनुपर्ने र अनुसन्धानबाट आएको निष्कर्षलाई राज्यले नीतिमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालको अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा. ईश्वर कोइरालाले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना सरकारको वित्तीय सहयोगमा सञ्चालित परियोजना भएको र यस परियोजनाको उद्देश्य नेपाल सरकारलगायत सम्बन्धित सरोकारवालाहरुलाई नीति निर्माणमा सहयोग पु¥याउनु रहेको बताउनुभयो ।

परियोजनाका प्रमुख अनुसन्धानकर्ता सिनासका सहप्राध्यापक डा.रत्नमणि नेपालले यसप्रकारको कार्यक्रम प्राज्ञिक क्षेत्र र नीतिनिर्माताबीचको संवाद भएको बताउँदै अनुसन्धानका उद्देश्य, विधि तथा अपेक्षित उपलब्धिका बारेमा प्रकाश पार्नुभएको थियोे । परियोजना प्रमुख रत्नमणि नेपालले नेपालको पर्वतीय पर्यटन जोखिममा रहेको र यसलाई कम गर्दै कसरी अगाडी बढ्न सकिन्छ भनेर अनुसन्धान सुरु गरिएको बताउनुभयो । उहाँले यस अध्ययन क्षेत्रका लागि हिमाली क्षेत्र खुम्बु, लाङटाङ, अन्नपूर्ण र हिल्सा क्षेत्र छनोट गरिएको र यहाँबाट कूल १६ सय जनाबाट नमुना संकलन गरिने जानकारी दिनुभयो । यो परियोजना तीन वर्षको लागि रहेको र अहिले परियोजना सुरु भएको ४ महिनामा भएको जानकारी दिनुभयो । परियोजना अन्तर्गत रहेर एक विद्यावारिधि र एक एमफिल तहका विद्यार्थीले शोध पत्र तयार गर्नेछन् ।

सरोकारवालाहरुका तर्फबाट मुस्ताङको घरपजोङ गाउँँपालिका अध्यक्ष मोहन सिंह लालचनले मुस्ताङमा जलवायु परिवर्तनका असर तिव्ररुपमा देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा टानका प्रमुख कार्यकारी रामचन्द्र सेढाई, सदस्य उमेश कार्की, पर्यटन व्यावसायी गमबहादुर राई, जीवन केसी, गोपाल नेपाल, पर्यटन योजनाविद् डा.बिपी बडाल, नाथमका दिनेश श्रेष्ठ लगायतले हिमाली पर्यटनमा जलवायु परिवर्तनको असर र त्यसको समाधानमा समुदाय र सम्बन्धित संस्थाहरुले खेलिरहेको भूमिकाका बारेमा विचार राख्नुभएको थियोे । त्रिभुवन विश्वविद्यालयका अनुसन्धान समन्वय तथा विकास परिषद्का विज्ञ प्रा.डा.नरेन्द्र खनालले पर्यटन र जलवायु परिवर्तन राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र भएको र यसै सम्बन्धि अध्ययन सिनासले गर्ने प्रस्ताव गरेकोले अध्ययनको नतिजाले नेपाल सरकार तथा सरोकारवाला सबैलाई नीतिनिर्माणमा फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन परियोजनाका सहायक अनुसन्धानकर्ता त्रिवि ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा राजन विनायक पासाले गर्नुभएको थियोे । यसअघि सिनासले यस परियोजनाको प्रारम्भिक कार्यशाला सम्पन्न गरिसकेको छ ।


प्रतिक्रिया