दश लाख ठगी गर्ने एक जना पक्राउ

असार १४, २०७५ | भैरहवा

प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई छुटाउनका लागि प्रहरीसंग सेटिङ्ग मिलाएको भन्दै दश लाख रुपैयाँ लिएका एक व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला प्रहरी कार्यालयका अनुसार, नवलपरासीको रामग्राम नगरपालिका–१३ घर भई काठमाडौं बस्ने गरेका ४८ वर्षीय राजेश गौड नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरी ठगी अभियोगमा रुपन्देही अदालत मार्फत् कारबाही अघि बढाएको हो ।

फागुन २८ गते भैरहवाको सेवापथस्थित सडकमा हरिश सेठिया नामका स्थानीय व्यापारीमाथि गोली प्रहार भएको घटनाको अनुसन्धानको सिलसिलामा प्रहरी नियन्त्रणमा रहेका सिद्धार्थनगर नपा–६ का मोहन बानियालाई छुटाईदिने भन्दै गौडले प्रहरीको नाममा गौडका आफ्न्तबाट पैसा असूलेको दाबी प्रहरीले गरेको छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले गौड सर्वसाधारण नागरिकको रुपमा प्रहरी अधिकृतसंग घटनाका बारेमा जानकारी लिने गरेको र बाहिर निस्केपछि छुटाउनका लागि प्रहरीसंग सेटिङ्ग मिलाएको भन्दै पैसा असूलेको कुरा जानकारीमा आएपछि पक्राउ गरी कारवाही थालिएको बताउनुभयो ।

ज्ञवालीका अनुसार, अनुशन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका मोहन बानिया बेकसुर भएको पाईएपछि प्रहरीले उनलाई छाडेको र बानिया छुटेपछि यो रहस्य बाहिर आएको हो । गौडले बानियालाई छुटाउन १० लाख रुपैयाँमा प्रहरीसंग कुरा भएको भन्दै बानियाका साथी मार्फत् १० लाख रुपैयाँ बुझेको प्रमाण छ ।  


प्रतिक्रिया