हेलिकप्टर मार्फत सुत्केरीको उद्वार

श्रावण ९, २०७५ | बझाङ

सुत्केरी व्यथाले थलिएकी बझाङका एक महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ । थलारा गाउँपालिका वडा नम्बर ७ कि धुमा सार्कीलाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको हो । सरकारका तर्फबाट यसरी बिरामीको उद्वार गरिएको यो बझाङको पहिलो घटना हो ।

मंगलबार सल्यक्रिया गरेर बच्चा जन्माएकी २५ वर्षीया धुमा रक्तश्राव नरोकिए पछि प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालयले एयर लिफ्प्ट सेवा दिएर उनको उद्वार गरेको हो । अत्याधिक रक्त श्रावका कारण उनी दुई दिन देखि बेहोस अवस्थामा थिइन् । 

प्रदेश नं ७ का सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीका अनुसार मंगलबार साँझ मनाङ एयरको हेलिकोप्टरबाट कोहलपुर लगेर धुमाको उपचार थालिएको छ । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको भएपनि अस्पतालमा आइसीयूमा राखेर उनको उपचार भैरहेको छ । उनको बच्चाको अवस्था राम्रो रहेको छ ।

धुमाले बझाङ जिल्ला अस्पतालमा मंगलबार नै बच्चा जन्माएकी थिइन । शल्यक्रियाबाट उनको बच्चा जन्मिए पनि रक्त श्राव नरोकिए पछि उनलाई थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको थियो । गाडीबाट नेपालगञ्ज लैजाँदा करीब २ दिन लाग्ने र उनको ज्यान झन खतरामा पर्ने भएपछि उनलाई एयर लिफ्टिङ गर्नका लागि गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय, प्रतिनिधि सभा सदस्य भैरव बहादुर सिंह, जिल्ला अस्पतालका डाक्टर अनुप रेग्मी र प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले पहल गरेका थिए । 

बच्चा पाए लगतै उनको रक्त श्राव बढेको र फोक्सो तथा कलेजोमा समस्या आए पछि  काप्दै धुमा बेहोस भएको जिल्ला अस्पतालका डाक्टर अनुप रेग्मीले बताउनुभयो । ‘सबैको प्रयासले उनको ज्यान बचेको छ । रेग्मीले भन्नुभयो, ‘समयमा हेलिकप्टर नआएको भए केही घण्टा भित्रै उनको मृत्यु हुने खतरा थियो ।’

सामाजिक विकास मन्त्रालयले धुमालाई हेलिकप्टरबाट उद्वार गर्दा पाँच लाख खर्च लागेको जानकारी दिएको छ ।

बझाङमा रहेको एक मात्र विमान स्थल बन्द भए पछि यहाँबाट बाहिर जिल्ला रेफर गरिएका कतिपय बिरामीहरुले समयमा नै उपचार नपाउँदा बाटैमा ज्यान गुमाउने गरेका छन् । एक मात्र विकल्पको रुपमा रहेको जयपृथ्वी राजमार्ग पनि बर्खामा दिनहुँ जसो पहिरोका कारणले बन्द हुन थाले पछि रिफर गरिएका बिरामीहरुको स्वास्थ्यमा झन जोखिम हुने गरेको छ । 


प्रतिक्रिया