बाढीले बगायो नवनिर्मित विद्यालय भवन
भाद्र २, २०७५ | बझाङ
शुक्रबार राति परेको अविरल वर्षा पछि आएको बाढीका कारण बझाङमा एक विद्यालयको नवनिर्मित भवनमा क्षति पुगेको छ । तल्कोट गाउँपालिका २ बस्टीस्थित विश्वनाथ प्राथमिक विद्यालयको २ महिना अघि बनेको भवनमा बाढीका कारण क्षति पुगेको हो । बाढीसँगै विद्यालयको पछाडि पट्टीबाट पहिरो समेत सुरु भएपछि तल्कोट गाउँपालिकामा करीब १० लाखको लागतमा दुई महिना अघि निर्माण भएको दुई कोठे पक्की भवन र त्यसमा रहेका फर्निचरहरुमा पूर्ण रुपमा क्षति पुगेको विद्यालयका प्रधानाध्यापक विर्खराज जोशीले बताउनुभयो ।
विद्यालयमा बाढी र पहिरो पसेपछि खानेपानीको संरचना पनि बगाएको उहाँले बताउनुभयो । यस्तै विद्यार्थीहरुलाई दिवा खाजा तयार गर्ने भान्छा घरमा पनि बाढीका कारण क्षति पुगेको छ । उहाँले विद्यालय भवन, खाजा घर, खानेपानी र फर्निचर गरी झण्डै २० लाख बराबरको क्षति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुरानो भवनमा राखिएका हुनाले कागज पत्रहरु मात्र बचेका छन् । अरु सबै पहिरोले लग्यो ।’ विद्यालयको फर्निचर लगायतका संरचनाहरु बाढी र पहिरोले क्षति पुर्याएसँगै त्यहाँ अध्यनरत १ सय १० जना विद्यार्थीको पठनपाठन अवरुद्ध भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै संरचना बगिहाल्यो । यतिका विद्यार्थीलाई कहाँ लगेर पढाउने ?’
विद्यालय नजिकै रहेको ठूलोखोलाले धार परिर्वतन गरी विद्यालयमा पसेपछि विद्यालय नजिकै रहेको बन्दै गरेको सामुदायिक महिला भवनमा पनि क्षति पुगेको छ । यो भवन गाउँपालिकाको तीन लाख अनुदान र स्थानीयको श्रमदानमा बन्दै गरेको थियो ।
सोही खोलामा बाढी पछि आएको पहिरोले स्थानीय चँदारा समुदायले ठेकी बनाउन प्रयोग गर्ने अन्सान्नु घर पनि बगाएर लगेको स्थानीय नरेस रोकायाले बताए । उनले गाउँको माथिबाट पहिरो सुरु भएका कारण विद्यालय भन्दा तल रहेका स्थानीयका ३ वटा घर र करीब १ सय रोपनी खेतबारी पनि जोखिममा परेको बताए ।
विद्यालयको सिरानीमा निर्माण भएको चैनुपुर रुवातोला र बाँया तर्फ निर्माण भएको बस्टी भिमढुङ्गा सडकका कारणले पहिरो सुरु भएको स्थानीयको भनाई छ । ‘यति नजिकै दुई वटा सडक नबनाऔं । खोलाले धार परिर्वतन गऱ्यो भने गाँउनै बगाउँछ भनेर भनेकै हौं’ स्थानीय झलक रोकायाले भने ‘त्यो बेला गाउँलेको आवाज कसैले सुनेनन ।
अहिले यस्तो दुर्दशा भयो’ उनले स्थानीय ठूलो खोलाको प्राकृतिक प्रवाह छेकिने गरी सडक बनाएका कारण खोला विद्यालय तर्फ फर्किएको बताए । खोलाले धार बदलेर स्कूल बगाए पछि त्यसको तल रहेका तीन घरका मानिसहरु बाढी पहिरोको डरले विस्थापित हुने अवस्थामा पुगेको बताए ।
यस्तै शुक्रबार राति गएको पहिरोले खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीमा ३ वटा घर बगाए पछि ३ परिवारका गरी ३२ जना विस्थापित भएका छन् । स्थानीय खड्क सिंह, मोहन सिंह र हिरा सिंहको घर पूर्ण रुपमा बगाएको हो । घर बगाउँदा करीब ६० लाख बराबरको अन्नपात, भाँडाकुडा, लत्ता कपडा र नगद पहिरोमा पुरिएको स्थानीय ललित सिंहले बताए ।
घर भन्दा १ सय मिटर माथि फाटे भन्ने ठाँउबाट आएको पहिरोले कारण त्यहाँका अरु ५ घर पनि जोखिममा परेको र पहिरोको डरले उनीहरु घरमा बस्न नसकेको उनले बताए । पहिरो आउने संकेत पाएपछि घरबाट भागेका कारण मानवीय क्षति भने हुन नपाएको उनले बताए ।