प्रदूषण रोक्न तिब्बती मदिरामा प्रतिबन्ध
भाद्र १९, २०७५ | बझाङ
तिब्बती मदिराको अनियन्त्रित प्रयोगका कारण सेती नदीको मुहान र हिमाली क्षेत्रमा प्रदूषण बढ्न थाले पछि बझाङको साइपाल गाउँपालिकाले आयातमा प्रतिबन्ध लगाएको छ । गत असारमा सम्पन्न दोस्रो गाउँ सभाले नीतिगत निर्णय गरेर आर्थिक वर्ष २०७५/०७६ बाट मदिरा आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
बझाङको उरै भञ्जाङ नाका हुँदै तिब्बतको ताक्लाकोटबाट वार्षिक तीन करोड बराबरको मदिरा अवैध रुपमा आयात हुने गरेको साइपाल गाउँपालिकाको अनुमान छ । यो बाटो भएर करीब २५ हजार भेडा च्याङ्गग्रा, दुई सय भन्दा बढी खच्चर, चौंरी र भरीया मार्फत यो परिमाणको मदिरा बझाङ भित्रिने गर्दछ । यसरी आयात भएको मदिरा आधा भन्दा बढी सेती नदीको मुहान आसपास र जडीबुटी संकलन क्षेत्र रहेको उच्च हिमाली भूभागमा खपत हुने गर्दछ ।
यार्सा तथा जडीबुटी संकलक, उरै भञ्जाङको बाटो भएर चीनको तिब्बत जाने यात्री र यस क्षेत्रका नदी किनारमा खोलिएका अस्थायी होटलहरुले मदिराका खाली बोत्तल सेती नदीको मुहान क्षेत्रमा जथाभावी फाल्ने गरेका छन् ।
कैलास मानसरोवर जाने यात्री र यार्सा लगायत अन्य जडीबुटी संकलनकर्ताका लागि लक्षित गरेर काँडा गाविसको धुली देखि खोपा भन्ने ठाँउ सम्म सेती नदीको किनारमा खोलिएका अस्थायी होटलबाट निस्कने सिसाका बोतल र कुहिने तथा नकुहिने फोहोरहरु सेती नदीमा बिर्सजन गर्ने गरेको कारण नदीमा फोहोर थुप्रिदै गएको हो ।
समुन्द्र सतह देखि झण्डै ५ हजार मिटरको उचाइमा रहेको कालंगा भन्ने ठाँउमा सेतीको मुख्य मुहान रहेको छ । यहाँ रहेका होटलहरुले प्लाष्टिक, सिसा लगायत होटलबाट निस्कने सबै खालको फोहोर फाल्ने ठाँउ सेती कै मुहान भएको कारण प्रत्येक वर्ष मुहानमा फोहोर थुप्रिदै गएको यसको नियन्त्रण गर्नका लागि मदिरा आयातमा कडाई गरिएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो ।
कालंगा भन्दा तल खोलिएका ४ दर्जन जती होटल र पसलको फोहोर सेती नदीमा नै फाल्ने र पानी अभावका कारण यसै नदीको पानी पिउने, पकाउने र सरसफाइ गर्ने कामको लागि उपयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
‘सेती नदी मात्र हैन, जडीबुटी संकलन क्षेत्रमा पनि मान्छे हिँड्न नमिल्ने गरी सिसा फालिएको छ’ धामीले भन्नुभयो, ‘यसलाई समयमै रोक्न नसके नदी मात्र हैन यहाँको पर्यावरण र जैविक विविधता नै संकटमा पर्ने खतरा भएकोले तिब्बती मदिरा आयातमा पूर्ण प्रतिबन्ध लगाएका हौं ।’
उहाँले साउन महिनाको दोस्रो साता देखि नै सीमा प्रहरी चौकी धुलीको सहयोगमा मदिरा आयात हुने सम्भावित ठाउँमा गाउँपालिका र प्रहरीको संयुक्त टोलीहरु खटाइएको र ४ जना भन्दा बढीलाई कारबाही गरिसकेको जानकारी दिनुभयो ।
साइपाल गाउँपालिकाले अहिले त्यहाँ रहेको सिसालाई कसरी सुरिक्षत तरिकाले बिर्सजन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिरहेको गाउँपालिका उपाध्यक्ष कल्पना बोहराको भनाई छ । ‘आउने मदिरा त रोकियो । अहिले फालेका सिसा र फोहोरको कसरी व्यवस्थापन गर्ने भन्ने अर्काे समस्या छ’ उपाध्यक्ष बोहराले भन्नुभयो, ‘यसपालाको गाउँ सभाले मुहान क्षेत्र सफा गर्नका लागि केही बजेट समेत विनियोजन गरेको छ । तर सामान्य प्रयासले यो काम सम्भव छैन ।’
उहाँले यसको लागि स्थानीय व्यक्ति र बाहिरबाट आउने जडीबुटी संकलकहरुलाई आफूले उत्पादन गरेको फोहोर आफै सुरक्षित तरिकाले विर्षजन गर्ने पद्धती विकास गर्ने बारे छलफल भैरहेको बताउनुभयो ।
अनियन्त्रित सिसा र फोहोर बढ्दै जाँदा उरै पदमार्ग, साइपाल हिमालको बेस क्याम्प आदि पर्यटकीय क्षेत्रको शोभा समेत बिग्रदै गएको उहाँको भनाई छ ।