डोल्पामा नि: शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन

आश्विन १५, २०७५ | डोल्पा (दुनै)

डोल्पाको सदरमुकाम दुनैमा एकैठाउँमा सबै सेवा सुबिधा उपलब्ध हुने गरी निशुल्क वृहत स्वास्थ्य शिविर सोमवारबाट सुरु भएको छ । विभिन्न स्वास्थ्य समस्याहरु पालेर बसेका डोल्पा जस्तो दुर्गम जिल्लामा एकएक पाइला काठमाडौंको आयोजनामा डोल्पाको जिल्ला अस्पताल दुनैमा सोमबारदेखि नि: शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

सोमबारदेखि सुरु भएको नि: शुल्क बृहत स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन गाउँबाट स्थानीयहरुको ओइरो लागेको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध हुने भए पछि यस्तो घुँइचो लागेको एक पाइला काठमाडौंका अध्यक्ष सुमन शमशेर थापाले बताउनुभयो ।

शिविर सुरु हुने दिन सोमबार निकै भीड बढेकाले स्वास्थ्य जाँच गर्न सक्ने जतिमात्र २ हजार जनालाई टोकन वितरण गरिएको र १ हजार २ सयको स्वास्थ्य परीक्षण भएको आयोजक संस्थाले जनाएको छ । बृहत नि: शुल्क स्वास्थ्य शिविरमा स्त्री रोग तथा महिलाहरु धेरै रहेको पाइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

बृहत नि: शुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, सामान्य, नाक कान घांटी, बाल रोग, आंखा रोग, हाड जोर्नी, रोडियोलोजी, छाला रोग, स्त्री रोग, रक्त परीक्षण, दन्त परीक्षण, एचआइभी एड्स एचसीभी परीक्षण तथा परामर्श, सामान्य शल्यक्रिया समेत सेवा उपलब्ध गरिएको आयोजकले जनाएका छन् ।

शिविरका लागि जिल्ला अस्पताल डोल्पा, फत्तेबाल आँखा अस्पताल फुलटेंग्रा नेपालगञ्ज, ठूलीभेरी नगरपालिका जुफाल डोल्पा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा, इम्प्याक्ट नेपाल र स्पर्श नेपालले समेत सहकार्य गरेका छन् । सोमबारबाट सुरु भएको शिविर ३ (तीन) दिनसम्म चल्ने छ । 


प्रतिक्रिया