हलियाको उपचार नि: शुल्क गरिने

आश्विन २९, २०७५ | बझाङ

बझाङ–  गाडी दुर्घटनामा घाइते भएर खुट्टा भाँचिएका बझाङका दुई जना हलियाको खुट्टामा रहेको फलामको रड निकाल्ने काम नि: शुल्क हुने भएको छ । ललितपुरस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले उनीहरुको नि: शुल्क उपचार गर्ने भएको हो ।

पुस्तौं पहिला लिएको ऋणको व्याज बापत अहिले पनि साहुँको हलो जोतिरहेका हलियाको बारेमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएको थियो । नौ वर्षकै उमेरमा साहुको हलिाया बसेका बझाङको थलारा गाउँपालिका वडा नं ६ मा पर्ने विस्खेत गाउँका श्याम नेपालीको खुट्टामा रहेको रडको कारण खेतीपातीको काम गर्न नसकेको र काम गर्न नसक्दा साहुले व्याज थोपर्ने गरेको विषय समाचारमा उल्लेख गरिएको थियो ।

‘समाचार हेरे पछि हामीलाई निकै नै दुख लाग्यो’ अस्पतालका प्रमुख कार्यकारी अधिकृत निर्मल गुरुङले भन्नुभयो, ‘उनीहरुको खुट्टाको उपचार गर्न सकेपनि सहयोग होला भनेर नि: शुल्क उपचार गर्ने निर्णय गरेका हौं ।’ उनीसँगै दुर्घटनामा परेर घाइते भएका अर्का हलिया कुम्भ नेपालीको खुट्टामा भएको रड झिक्ने उपचार समेत गरिदिने उहाँले बताउनुभयो ।

दुबै जना बिरामी र एक जना कुरुवाको यातायात खर्च र काठमाडौंमा बस्दा हुने सबै खर्च पनि अस्पतालले व्यहोर्ने निर्णय भएको गुरुङले बताउनुभयो । उहाँले साहुको काम गर्न नसकेको अवधिमा लाग्ने व्याज रकम पनि अस्पतालले तिरिदिने बताउनुभयो ।

यता आफूहरुकोवर्षाै देखी खुट्टामा राखिएको रड निशुल्क झिकिने खबर सुने पछि श्याम र कुम्भ खुशी भएका छन् । ‘पाँच वर्ष पछि रड झिक्नु पर्छ भनेर डाक्टरले भनेका थिए । खर्च नपाएका कारण सात वर्ष भैसक्दा पनि निकाल्न सकेका थिएनौ’ उनले भने ‘काठमाडौंको अस्पतालले नि: शुल्क उपचार गरिदिने खबर पाए पछि खुशी लागेको छ ।’

छोराको उपचार भए आफुहरु वर्षेनी बढ्ने व्याजबाट मुक्ति पाउने श्यामकी आमा ज्ञाना दमाईको भनाई छ । शरिरमा रहेका रड झिकिए पछि छोरा स्वस्थहुने र छोराले सजिलै काम गर्न सक्ने उनले बताईन । ‘दिन भरी काम गर्छ राति खुट्टा दुख्यो भनेर रोइकराई गर्छ । यसको पीडा देखेर मेरो छाति चिरिन्छ’ उनले भनिन ‘यसको खुट्टाको उपचार भैदियो भने राम्रो सँग काम गर्दाे हो ।’

उनको रडमा लगाइएका नटहरु शरिर बाहिर देखिएका छन् । समयमै उपचार नगरेका कारण सामान्य काम गर्दा पनि खुट्टा सुन्निने र काम नगर्दा साहुँको व्याज बढ्ने भएका कारण पीडा खेपेरै पनि काम गर्नु परिरहेको भनाई छ । 

 


प्रतिक्रिया