इन्टरनेटको सेवा नाप्ने मेसिन आउँदै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ११, २०७५ | काठमाडौं

इन्टरनेट सेवाको दुरुपयोग र अवैध कल वाईपास भीओआईपी रोक्न सरकारले उच्चस्तरीय प्रविधि भित्र्याउने भएको छ । इन्टरनेटको पँहुच गाउँ तहसम्म पुगेपनि उपभोक्ता ठगिने क्रम उच्च भएपछि नियन्त्रणका लागि सरकारले कडा कदम चाल्न लागेको हो ।

इन्टरनेटको खरिदमा सेवा प्रदायकले बढी रकम असुल्ने तथा सेवा प्रभावकारी हुन नसकेको गुनासो वढेपछि संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्झौता अनुसारको सेवा मापन गर्ने मेसिन खरिद गर्ने तयारी गरेको हो । विद्युत प्राधिकरणमाफर्त खरिद गरिने मेसिनका लागि ५ अर्वको वजेट पास भएको र छिट्टै अन्तराष्ट्रिय प्रस्ताव आव्हान गरिने मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । 

अनुगमन गर्ने सरकारी निकायमा सुचना प्रविधिको आवश्यक ज्ञान र जनशक्तिको अभावमा इन्टरनेट सेवाको चरम दुरुपयोग भईरहेको मन्त्री बास्कोटाको भनाई छ । खरिद गर्न लागिएको मेसिनले सम्झौता अनुसार उपभोक्ताले इन्टरनेट सेवा पाएका छन्/छैनन् भन्ने जानकारी दिने छ । राजश्वमा समेत सेवा प्रदायकले वार्षिक १५ अर्व रुपैया जति चलखेल गरेको सरकारको अनुमान छ । मन्त्री बास्कोटाले भन्नुभयो, राशस्वमा समेत प्रभाव परेको सुनिएको छ । यो विषयमा पनि अनुसन्धान गर्दैछौं । 

सरकारले अवैध कलवाईपास रोक्न इन्टरनेशनल कल मोनिटरिङ सिस्टम समेत भित्र्याउने तयारी गरेको छ । अवैध कलबाईबासबाट करोडौं रुपैया बाहिरिएपछि यसलाई नियन्त्रण गर्न सरकारले नयाँ प्रविधि खरिद गर्न लागेको हो । 

 


प्रतिक्रिया