बझाङमा पहिलो हिमपात : चिसो बढ्यो

कार्तिक १८, २०७५ | बझाङ

बझाङमा गएराति देखि वर्षासंगै हिमपात भएको छ । आईतबार बिहानदेखि बझाङको साईपाल, सुर्मा गाउँपालिका हिमाली भू भाग तथा खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएको हो । वर्षासंगै परेको हिमपातका एकाएक जाडो बढेको छ । 

हिमपात भएपछि चिसो निकै बढेको सुर्मा गाउँपालीकाका नरेश बहादुर बोहराले बताए । गाउँमा त्यति धेरै हिउँ नजमे पनि गाउँ भन्दा केही माथी रहेका गोठ र खर्कहरुमा एक फिट जति हिउँ जमेको उनले बताए ।

यस्तै सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज हिमपातका कारण सेताम्मे भएको छ । खप्तड राष्ट्रिय निकुञ्जका सिनीयर ग्याम स्काउट हंश सुनारका अनुसार शनिबार मध्ये रातिदेखि निकुञ्ज क्षेत्रमा हिमपात सुरु भएको थियो । 

उनले भने ‘चिसो बढे पनि खप्तड निकै शुन्दर देखिएको छ । यहाँका पाटनहरु हिउँले छपक्कै ढाकिएका छन्’ उनले निकुञ्ज क्षेत्रमा १ देखि डेढ फिट सम्म हिउँ जमेको बताए । आइतबार पनि आकासमा घनाबादल देखिएकोले अझै हिमपात हुन सक्ने उनको भनाई छ । 

खप्तडमा हिमपात भएपछि यहाँका खर्कहरुमा रहेका गोठाला र पशु वस्तुलाई समस्या भएको र हिमपातसँगै धेरै जसो खर्कहरु औल झर्ने तयारी गरिरहेको उनले बताए । 

कार्तिकको मध्यमा नै हिमपात र वर्षा भएपछि किसानहरु खुशी भएका छन् । हिमपातले जमिन ओसिलो हुने र खेतीपाती गर्न सजिलो हुने किसानहरुले बताएका छन् ।

हिउँदे बाली लगाउने तयारी गरिरहेका किसानहरुले समयमै भएको वर्षाका कारण यसपालाको बाली सप्रिने आशा गरेका छन् । जयपृथ्वी नगरपालिका १ का किसान लाल बन्दी विस्टले भने ‘कार्तिकबाट नै पानि पर्न सुरु भएको छ । यसपालाको हिउँदे बाली राम्रै होला भन्ने आशा जागेको छ ।’

समयमा हिउँ नपर्दा विगतका वर्षहरुमा पहाडी तथा हिमाली क्षेत्रमा हिउँदे बालीमा विभिन्न रोग र किराहरुको संक्रमण देखिएको र सोचे जस्तो उत्पादन लिन नसकेको किसानहरुको भनाई छ । 


प्रतिक्रिया