डोल्पामा जिप दुर्घटना हुँदा १० को मृत्यु (अपडेट)

कार्तिक १९, २०७५ | काठमाडौं

डोल्पाको ठूलीभेरी नगरपालिका–९ कालागौडामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिका ३ मा पर्ने सुंपानी जांदै गरेको भे १ च १६१० नम्बरको जिप ठूलीभेरी नगरपालिकाको वडा नं. ९ कालागौडामा बाटोबाट ४० मिटर तल भेरी नदीमा खसेको थियो ।

दुर्घटनामा त्रिपुराकोट माध्यमिक विद्यालयका शिक्षक त्रिपुरासुन्दरी नगरपालिका १ का हेमराज हमाल, सोही वडाका ६५ वर्षीय नरसिंह कठायत र २५ वर्षीय शेरबहादुर थापा तथा त्रिपुरासुन्दरी–५ की १८ वर्षीया लक्ष्मी रोकायाको मृत्यु भएको हो ।

त्यस्तै, त्रिपुरासुन्दरी २ की १० वर्षीया अस्मिता रोकाया, १२ वर्षीया याम रोकाया र कुमार रोकाया, सरस्वती आधारभूत विद्यालयका शिक्षक ४५ वर्षीय बोध धराला र उनकी १६ वर्षीया छोरी मनिसा तथा ठूलीभेरी नगरपालिका वडा नं. ५ माझफालका ३० वर्षीया भद्र रोकायाको मृत्यु भएको हो । 

डोल्पा जिल्ला अदालतमा काम गर्ने त्रिपुरा सुन्दरी नगरपालिका ९ की अमिना बुढाको अवस्था भने अज्ञात छ ।

उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । जिपमा सवार यात्रुको संख्या यकिन भएको छैन । 

दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक दिनेशबहादुर बोहोरा र त्रिपुरासुन्दरी नगरपालिका –२ का वडाध्यक्ष नन्दबहादुर थापालाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक अवदेश विष्टले जानकारी दिनुभयो ।

जिप दुर्घटनाको कारण खुलेको छैन । मृतकहरुको पहिचान भएपनि शव भने आफन्तहरुलाई राति भएकाले नबुझाइएको प्रहरीले जनाएको छ ।

कसरी, के कारणबाट दुर्घटना हुन गएको हो त्यसको अध्ययन अनुसन्धान सुरु गरिसकिएको छ । उक्त जिप सदरमुकाम दुनैबाट दिउँसो ३ बजे सुंपानी तर्फ हिँडेको थियो । बाटो ट्रयाक ओपन मात्र भएकाले निकै कठिन, सांघुरो र बाटोमा ढुङ्गाहरु धारिला रहेका छन् । 

डोल्पाको सदरमुकाम दुनैबाट विमानस्थल जुफाल र त्रिपुरासुन्दरी नगरपालिकाको सुपानीसम्म मोटरबाटोका रुपमा ट्रयाक ओपन मात्र गरिएको छ । त्यस कारण सडक निकै नाजुक छ ।

खाल्डाखुल्डी मात्र होइन सडकको स्तरवृद्धि नभएकाले सडक साँघुरो रहेको छ । यस सडकको ट्रयाक खुलेपछि सडकको सुधार भएको छैन । जिपहरु पनि हेलिकोप्टरबाट ढुवानी गरी डोल्पा ल्याएर रोड प्रमिट नलिइकनै आन्तरिक रुपमा प्राइभेट नम्बर प्लेटमा व्यवहारिक रुपमा सञ्चालन भैरहेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

उहाँका अनुसार गाडी सडकबाट चिप्लिएरै सडकभन्दा बाहिर गएर दुर्घटना भएको देखिन्छ । अन्य कारण के हो अनुसन्धानबाट थाहा हुने छ । व्यवहारिक रुपमा जिप चलाउन दिइएको भएपनि चालक तथा व्यवसायीहरु गम्भीर भएर जिप मर्मत गरी चलाउनु पर्नेमा त्यसो नहुने गरेको देखिन्छ ।  


प्रतिक्रिया