कर्णाली पर्यटन प्रवर्धन कार्यक्रम हुने

मंसिर ८, २०७५ | डोल्पा

कर्णाली - रारा पर्यटन वर्ष २०७५ को प्रवर्धनका लागि आगामी बुधबार कर्णाली पर्यटन प्रवर्धन कार्यक्रम गरिने भएको छ । कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार भन्ने मुल नाराका साथ गत बैशाखमा सुरु भएको कर्णाली रारा पर्यटन वर्ष–२०७५ को प्रवर्धनका लागि फोक्सुण्डो ताल परिसरमा कर्णाली पर्यटन प्रवर्धन कार्यक्रम हुन लागेको हो । 

कर्णाली पर्यटनको प्रवर्धनका लागि आगामी बुधबार फोक्सुण्डो ताल परिसरमा आयोजना गर्न लागिएको कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरुको उपस्थिति रहने छ । कार्यक्रमको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति रहने कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त कार्यक्रम कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र शे–फोक्सुण्डो गाउँपालिकाको सह–आयोजनामा पर्यटन क्षेत्रको विकास, बिस्तार, संरक्षण, संवर्धन र पर्यटन उद्योगको दिगो संचालनका लागि गर्न लागिएको हो ।

कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहने आशा गरिएको छ । कार्यक्रममा विभिन्न स्थानीय झांकीहरु समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डोल्पाका स्थानीय सञ्चार माध्यमहरुमा एक सूचना प्रकासन प्रशारण गरी जिल्लाका लब्धप्रतिष्ठित व्यक्तित्वहरु, सर्वसाधारणहरु, उद्योगी व्यापारी, पर्यटन व्यवसायी, राजनीतिक व्यक्तित्वहरु, पत्रकारहरु लगायतका सरोकारवालाहरुलाई आमन्त्रण गरिएको छ । 


प्रतिक्रिया