डोल्पाका विद्यालयहरुमा वार्षिक परीक्षाको तयारी सुरु

मंसिर ९, २०७५ | डोल्पा

डोल्पाका सम्पूर्ण विद्यालयहरुले चालू शैक्षिक सत्रको वार्षिक परीक्षा संचालनको तयारी तीब्र बनाएका छन् । जिल्लाका सबै स्थानीय तहका सामुदायिक र संस्थागत विद्यालयहरुले चालू शैक्षिक सत्र २०७५ को अन्तिम परीक्षा मंसिरको तेस्रो साताबाट सुरु गर्ने तयारी गरेका छन् ।

कक्षा १ देखि ९ सम्मको परीक्षाको तयारी तीब्रता पारिएको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जनाएको छ । जिल्लाका ८ मध्ये जगदुल्ला, मुड्केचुला, काइके गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाले आगामी १८ गतेबाट वार्षिक परीक्षा संचालन गर्ने जनाएको छ ।

ठूलीभेरी नगरपालिकाले भने चौंथो सातादेखि मात्र परीक्षा संचालन गर्ने गरी तयारी थालेको जनाएको छ । कक्षा ८ को भने प्रत्येक स्थानीय तह स्तरीय परीक्षा संचालन हुनेछ ।

मध्ये तथा तल्लो डोल्पाका ८९ सामुदायिक विद्यालय र ४ वटा संस्थागत विद्यालयमा परीक्षा संचालन गर्ने तयारी गरिएको छ । माथिल्लो डोल्पाका ३ गाउँपालिकाका १९ वटा सामुदायिक विद्यालयमा कात्र्तिक मसान्तमा परीक्षा सम्पन्न गरी शैक्षिक सत्र सकिएको छ ।

डोल्पामा अति चिसो उच्च हिमाली हावापानीका कारण फागुनबाट नयाँ शैक्षिक सत्र सुरु भई पुसको १५ गते समाप्त हुने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिंहराज डांगीले जानकारी दिनुभयो ।  


प्रतिक्रिया