डोल्पाका स्थानीय तहले बुझाएनन् आर्थिक विवरण

मंसिर २२, २०७५ | डोल्पा

डोल्पाका अधिकांश स्थानीय तहहरुले गत आर्थिक वर्षको खर्च विवरण पेश नगरेका कारण पुँजीगत बजेट निकासामा समस्या भएको छ । दोस्रो त्रैमासिकको दोस्रो महिना बित्न लाग्दा समेत पहिलो त्रैमासिकको पुँजीगत बजेट निकासा भएको छैन । जिल्लाका ७ वटा स्थानीय तहले अझै पनि आर्थिक विवरण बुझाएका छैनन् ।

महालेखा नियन्त्रण कार्यालयले गत आर्थिक वर्षमा गरिएको खर्चको विवरण उपलब्ध नभएसम्म चालू आर्थिक वर्षको पुँजीगत बजेट निकासा नदिने जनाएको छ । जिल्लाका ८ मध्ये त्रिपुरासुन्दरी नगरपालिकाले मात्र विवरण बुझाएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाले जनाएको छ ।

स्थानीय तहहरुमा आउने अधिकांश पुँजीगत बजेट वैदेशिक भएको र वैदेशिक बजेटको निकासा नआएका कारण पनि स्थानीय तहहरुमा जाने पुँजीगत बजेट निकासामा ढिला भएको कार्यालयले जनाएको छ । बजेट निकासा नभएकाले सबै स्थानीय तहहरुको पुँजीगत तर्फको खर्च शून्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाले जनाएको छ । 

जिल्लाका सबै स्थानीय तहहरुमा चालू खर्चको बजेट मात्र निकासा गएको निमित्त कार्यालय प्रमुख उदय जिसिले बताउनुभयो । उहाँका अनुसार डोल्पाका स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुले तलब भत्ता खाने र कार्यालय संचालन गर्ने काम बाहेक अरु प्रगति भएको छैन ।

कार्यालयका अनुसार चालू खर्च तर्फको बजेट निकासा गएको छ । जुन बजेट निकासा ठूलीभेरी नगरपालिकामा ५ करोड ७५ लाख ५० हजार,  त्रिपुरासुन्दरी नगरपालिकामा ५ करोड ७९ लाख ५० हजार, काइके गाउँपालिकामा २ करोड ६४ लाख ७५ हजार, छार्का ताङ्गसोङ गाउँपालिकामा २ करोड १३ लाख २५ हजार निकासा भएको छ । 

जगदुल्ला गाउँपालिकामा २ करोड ९९ लाख ५० हजार, डोल्पो बुद्ध गाउँपालिकामा २ करोड ४ लाख मुड्के चुला गाउँपालिकामा ३ करोड ५५ लाख २५ हजार र शे फोक्शुण्डो गाउँपालिकामा २ करोड ५३ लाख ७५ हजार रुपैयाँ बजेट निकासा भएको छ । पुँजीगत बजेट निकासा नहुँदा विकासका कामहरु अघि बढाउन समेत कठिनाई भएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तलब भत्ता निकासा दिने र चालू खर्चको बजेटले आवश्यक सामान किन्नु बाहेक अन्य काम गर्न नसकिएको मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताउनुभयो । प्रगति नहुनुमा बैंकिङ समस्या, वैदेशिक सहयोगका साथै प्रक्रियाका समस्याले पनि ढिलो भएको उहाँले बताउनुभयो । 

यसका साथ साथै विविध तर्फको निकासा पनि भर्खरै भएको छ । त्यो बजेट ठूलीभेरी नगरपालिकामा ९ लाख ९३ हजार २८ सय ३७ पैसा, त्रिपुरासुन्दरी नगरपालिकामा १० लाख ३५ हजार ३९ सय ३४ रुपैयाँ ५२ पैसा, काइके गाउँपालिका ६ लाख ४५ हजार ६८ सय ३ रुपैयाँ ६७ पैसा, छार्का ताङसोङ गाउँपालिकामा ६ लाख ४५ हजार ६८ सय ३ रुपैयाँ ६७ पैसा, जगदुल्ला गाउँपालिकामा ६ लाख ४५ हजार ६८ सय ३ रुपैयाँ ६७ पैसा, डोल्पो बुद्ध गाउँपालिकामा ६ लाख ४५ हजार ६८ सय ३ रुपैयाँ ६७ पैसा ा निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यलय डोल्पाले जनाएको छ । 

मुड्केचुला गाउँपालिकामा ६ लाख ७२ हजार ३५ सय ७७ रुपैयाँ २८ पैसा र शे फोक्शुण्डो गाउँपालिकामा ६ लाख ९८ हजार ३८ सय १६ रुपैयाँ ६० पैसा गरी जम्मा ५ करोड ८९ लाख १५ हजार ७१ रुपैयाँ ४५ पैसा निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यलय डोल्पाका निमित्त कार्यालय प्रमुख जिसिले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार स्थानीय तहहरुको पुँजीगत बजेटमा धेरै भाग वैदेशिक सहयोग भएकाले त्यसको फुकुवा नआउनु, स्थानीय तहहरुले गत वर्षको खर्च विवरण पेस गर्न ढिलाई हुनु, स्थानीय तहहरुमा स्थापना भएका बैंकहरुको कारोबार ढिलो हुनु लगायतका कारण पुँजीगत बजेट निकासा नभएको हो । 


प्रतिक्रिया