लुम्बिनी विश्व विद्यालय शान्तिको ज्ञान छर्ने प्राज्ञिक थलो बन्नुपर्छ : राष्ट्रपति

मंसिर २२, २०७५ | भैरहवा

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीलाई विश्वकै पर्यटकीय र सांस्कृतिक स्थलको रुपमा विकास गरिनु पर्ने बताउनु भएको छ । लुम्बिनीमा आयोजित लुम्बिनी विश्व विद्यालयलको १४ औं वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले लुम्बिनीलाई विश्वकै पर्यटकीय र सांस्कृतिक स्थलको रुपमा विकास गरिनु पर्ने बताउनु भएको हो ।

उहाँले लुम्बिनी, तिलौराकोट, रामग्रामलाई चक्रपथको रुपमा विकास गर्नुपर्ने बताउनु भएको हो । राष्ट्रपति भण्डारीले बुद्ध र लुम्बिनी विश्वमा दुबै परिचित रहेकाले लुम्बिनी विश्व विद्यालय मानवता र शान्तिको ज्ञान छर्ने विश्व स्तरको प्राज्ञिक थलो बन्नुपर्ने बताउनुभयो ।

सिङ्गो राष्ट्रको विकासमा लुम्बिनी बौद्ध विश्व विद्यालयले परिवर्तीत सन्र्दभलाई आत्मसाथ गर्दै समृद्धि नेपालको आकांक्षा पूरा गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई थियो । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले विदेशी पर्यटकको आगामनलाई सहज तुल्याउनु पर्ने उहाँले बताउनुभयो ।

प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले लुम्बिनी  रामग्राम, तिलौराकोट लगायतका ऐतिहासिक  क्षेत्रको खोज र अनुसन्धान गर्नमा विश्व विद्यालयको भूमिका महत्पूर्ण हुने बताउनुभयो ।

बौद्ध विश्व विद्यालयले बौद्ध धर्मको प्रसार प्रसारमा विशेष योगदान दिने भन्दै उहाँले यसमा प्रदेश सरकारबाट समेत सहयोग हुने बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीले लुम्बिनी विकास कोष र लुम्बिनी विश्व विद्यालयएक अर्काका परिपुरक रहेको बताउनुभयो । दुई वटा संस्था सँगसँगै हिँडेमा बुद्ध दर्शन र लुम्बिनीको प्रचार प्रशार विश्व माझ अझ प्रभावकारी ढंगले जाने उहाँले बताउनुभयो । 

लुम्बिनी विश्व विद्यालयले विश्वका अन्य विश्व विद्यालयसंगको प्रतिस्पर्धा गर्नमा आफूलाई खरोपनमा उतार्दै बुद्ध दर्शन बाहेक इञ्जिनियरिङ्ग लगायतका विषयको समेत अध्ययन अध्यापन सुरु गरी विश्वमै एक उत्कृष्ट शैक्षिक गन्तब्य स्थलको रुपमा रुपान्तरण गर्न सक्नु पर्ने उहाँले बताउनुभयो ।

२०५५ सालमा लुम्बिनीमा सम्पन्न प्रथम विश्व शिखर सम्मेलनबाट बौद्ध धर्म दर्शनको अध्ययन र अनुशन्धान गर्दै विश्वमाझ पुर्‍याउन लुम्बिनीमा विश्व विद्यालयको स्थापना गर्न माग गरे अनुरुप २०६१ सालमा अध्यादेश मार्फत ऐन जारी गरी स्थापना गरिएको हो । 


प्रतिक्रिया